अब इच्छाकामना गाउँपालिकामा कोही नागरिक भोकै बस्नु नपर्ने

0
39

कुरिनटार, असार ११ – चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका कुनै पनि नागरिकलाई अब १ दिन पनि भोकै बस्नु नपर्ने व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रममा सहकारी तथा गरिवी निवारण शीर्षकमा यस्तो योजना प्रस्तुत गरेको हो।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा सहकारी तथा गरिवी निवारण अन्तर्गत विपन्न वर्गहरुको पहिचान गरी कृषि, घरेलु उद्यम, हस्तकला लगायतका आय आर्जनको कार्यक्रम संचालन गर्न सहकारी मार्फत विना धितोको ऋण दिने व्यवस्था समेत गर्ने जनाएको छ।

सहकारी तथा गरिवी निवारणः
– गाउँपालिका स्तरीय  सहकारी समन्वय समिति स्थापना गरी सोही मार्फत सहकारी संस्थालाई अझ व्यवहारिक, सरलीकरण तथा प्रभावकारि बनाउँदै संचालन गरिनेछ ।
– गाउँपालिका भित्र संचालनमा रहेका सहकारीहरुको नियमन र अनुगमन नियमित गर्न सहकारी शाखा स्थापना गरिनेछ ।
– सहकारी संस्था संचालनमा आइपर्ने समस्याहरु व्यवस्थापन तथा लेखा सम्बन्धी तालिम संचालन गरिने छ ।
– उत्कृष्ट सहकारीलाई प्रोत्साहनको लागि पुरस्कारको व्यवस्था गरिनेछ ।
– विपन्न वर्गहरुको पहिचान गरी कृषि, घरेलु उद्यम, हस्तकला लगायतका आय आर्जनको कार्यक्रम संचालन गर्न सहकारी मार्फत विना धितोको ऋण दिने व्यवस्था गरिनेछ ।
– गाउँपालिका भित्रका सहकारीहरुको असल अभ्यास आदानप्रदानको लागि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।
– सहकारीको माध्यमबाट सीप हस्तान्तरण नीति अवलम्बन गरी विभिन्न क्षमता विकास, सिप विकास तथा आय आर्जन सम्बन्धी तालिम दिइनेछ ।
– हरेक घर परिवारलाई सहकारीमा जोडिन प्रोत्साहन गरिनेछ ।
– गरिवि निवारणका लागि न्यूनतम १०० दिन रोजगारी उपलब्ध नहुने परिवारका लागि प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत रोजगारीको सुनिश्चित गरिनेछ ।
– गरिवी निवारणका लागि नेपाल सरकारले लागू गरेको प्रधानमन्त्रि रोजगार कार्यक्रममा समन्वय गर्न आवश्यक थप बजेटको व्यवस्था गरिनेछ ।
– नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत गाउँपालिका भित्रका विपन्न नागरिकहरुको खरको छानो भएका घरहरुलाई जस्ता पाताले छाना छाउने व्यवस्था मिलाईनेछ ।
– गाउँपालिका भित्रको कुनै पनि नागरिक १ दिन पनि भोकै बस्नु नपर्ने व्यवस्था मिलाईनेछ ।