कांग्रेसबाट बागी बनेर दुई पटक वडाध्यक्ष निर्वाचित

0
177

रोल्पा, जेठ १- रोल्पाको सुनीलस्मृति गाउँपालिकाको वडा नम्बर २ मा स्वतन्त्र उम्मेद्वारी दिएका नेत्रबहादुर गिरीले नेतृत्व हात पारेका छन्। ०७४ सालको निर्वाचनमा पनि गिरी स्वतन्त्रबाटै विजयी भएका थिए। लौरो चिन्हबाट चुनाव लडेका गिरीले ५०७ मत ल्याएर विजयी भएका हुन्।

गिरीले ०७४ सालको निर्वाचनमा कांग्रेससँग टिकट मागेका थिए। तर पार्टीले उनलाई  पाखा लगाइदिएको थियो। कांग्रेसले टिकट नदिए पनि उनले त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

अहिलेको निर्वाचनमा पनि गिरीले कांग्रेससँग टिकट मागेका थिए। यसपालि पनि उनलाई पार्टीले पाखा लगायो। तर गिरीले भने फेरि यसपाली पनि हार मानेनन्। लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेद्वारी दिएका थिए। गएको पाँच वर्षमा उनले जनताको मत जितिसकेका थिए।

२०७४ मा कांग्रेसको निर्णयविपरीत उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई कारबाही गरेको थियो। उक्त कारवाही अहिलेसम्म पनि फुकुवा नभएको कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले बताए। ‘पार्टीको कारवाही फुकुवा भएको छैन, फुकुवा नभएपछि हामीले टिकट दिन मिल्दैन,’ उनले भने।

पार्टीले कारबाही फुकुवा नगरेको भन्दै उनलाई कांग्रेसबाट टिकट नदिइएपछि यसपाली पनि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।