कालिका नगरपालिकामा सत्ता गठबन्धनको घरदैलो तीब्र

0
74

कालिका, वैशाख २४- चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र पारेको छ । निर्वाचन मिति नजिकिदै गर्दा सत्ता गठबन्धन दलहरुले घरदैलोलाई तीव्रता दिएका हुन् ।

उम्मेदवारहरु वडाका मतदाताहरुको घर-घर पुगेर मत मागिरहेका छन् । दलहरु सत्ता गठबन्धनका साझा उम्मेदवारहरुलाई भोट माग्म व्यस्त छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले कालिका ७ मा घरदैलो गरेको छ ।

गठबन्धनबाट पालिका र वडा नम्बर ७ का उम्मेदवारहरु सँगसँगै घरदैलोमा हिँडेका छन् । पालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसी, उपप्रमुखका उम्मेदवार नेकपा मावोवादी केन्द्रकी सबिता लामा र वडाध्यक्षका उम्मेदवार कांग्रेसका कमलराज मुक्तान सँग-सँगै घरदैलो कार्यक्रममा सहभागी भएका हुन् ।

उनीहरुसँगै गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु पनि सँगै थिए । आज बिहान कालिका ७ को लाहुरे चोक, क्लब चोक, तिवारी चोक, मिलनचोक, स्याउलीबजारलगायतका ठाउँमा घरदैलो कार्यक्रम सकिएको वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले जानकारी दिए ।

मतदाताहरु पनि सत्ता गठबन्धन दलहरु प्रति सकारात्मक रहेका छन् । पालिकासँगै कालिका ७ मा गठबन्धनको जित हुने वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले विश्वास व्यक्त गरे । ‘घर दैलो कार्यक्रम तीव्र गतिमा भइरहेको छ, मुक्तानले भने, ‘मतदाताहरु पनि सकारात्मक हुनुहुन्छ । गठबन्धनले जित्नेमा विश्वस्त छु ।’ उनले आफुहरुले मतदाताको मन जितिरहेको दाबी गरे ।

उनले गठबन्धनका उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी गराउन वडाबासीलाई आग्रह समेत गरे । कालिकामा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका शिवराम केसीलाई उठाएको छ । यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रबाट सबिता लामा उम्मेदवार छिन् ।

वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसबाट कमलराज मुक्तान, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी फुलमाया कुमाल, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बिष्णुमाया परियार तथा खुला सदस्यमा कांग्रेसका पुस्कल बस्नेत र माओवादी केन्द्रका खड्कबहादुर विक रहेका छन् ।