रत्ननगरको बकुलहरमा खुल्यो सुविधा सम्पन्न सेभ सुपरमार्केट

0
74

रत्ननगर ,वैशाख १९- पुर्वी चितवनको रत्ननगरमा सुविधा सम्पन्न सुपरमार्केट सञ्चालनमा आएको छ । सौराहा भेन्चर्स प्रालिद्वारा संचालित सेभ सुपरमार्केट रत्ननगरको बकुलहर स्थित पुरानो ज्योतिहल भएको स्थानमा रहेको छ ।रत्ननगरको बकुलहरमा खुल्यो सुविधा सम्पन्न सेभ सुपरमार्केट 1आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा सेभ सुपरमार्केट प्रालिका अध्यक्ष नारायण भट्टराईले कोरोना महामारीका कारण पर्यटन व्यवसाय धराशयी भएपछि सौराहाका व्यवसायीहरुको सामूहिक लगानीमा सुपरमार्केटको परिकल्पना गरी व्यवसाय सञ्चालन गरिएको बताए । सो मार्केटमा १८ जना व्यवसायीको १६ करोड रुपैयाँ लगानी रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

सुपरमार्केट सञ्चालनपश्चात् पूर्वी चितवनबाट दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि लामो दूरीको यात्रा गरेर नारायणगढ नै जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए । एउटै छानामुनि सम्पूर्ण खाद्यान्न तथा घरायसी सामानहरु सुलभ मूल्यमा उपलब्ध हुने भएपछि पूर्वी चितवनवासीलाई सहज हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश घिमिरेले प्रतिस्पर्धी बजारको नीति बमोजिम उपभोग्य मूल्यभन्दा सस्तो दरमा खाद्यान्न तथा घरायसी सामान उपलब्ध हुने बताए । उद्घाटनका अवसरमा छूट प्रदान गर्नुका साथै हरेक महिनाको केही दिन विशेष छूट प्रदान गर्ने लक्ष्य रहेको उनले बताए ।

यस्तै, सञ्चालक सुमन घिमिरेले सुपरमार्केटभित्र सुविधासम्पन्न चलचित्र हलसमेत निर्माण हुने बताउँदै पूर्वी चितवनका चारवटै पालिकामा दुई वर्षभित्र केही सानो आकारको सुपरमार्केट सञ्चालन गर्ने योजना रहेको बताए । मार्केटको पहिलो तल्लामा ग्रोसरीसहितको खाद्यान्न, दोस्रो तल्लामा कपडा, इलेक्ट्रिक र किचनमा प्रयोग हुने सबै प्रकारका भाँडाकुडा र तेस्रो तल्लामा मनोरञ्जनका लागि स्केट पार्क रहने उनले जानकारी दिए ।

कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका साहुहरुले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे।

सुरुमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आवद्ध हुन पुगेका छन् । सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए । बकुलहरमा बन्द अवस्थामा रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट सुरु गरेको हो । उनका अनुसार रु १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो ।

पूर्वी चितवनकै सुविधासम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सुपरमार्केट सञ्चालन गर्ने सौराहा भेन्चरस् प्रा.लि.का अध्यक्ष नारायण भट्टराईका अनुसार सुपरमार्केटभित्र सिनेमा हल, सपिङ सेन्टरलगायतको व्यवस्था छ । सुरुमा सपिङ सेन्टर मात्र सञ्चालन हुनेछ भने त्यसपछि दुई सिनेमा हल सञ्चालन हुनेछन् ।

नवनिर्मित सुपरमार्केट तीन तलाको रहेको छ । पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल र तेस्रो तलामा स्केट पार्क रहने छ । सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताए ।

सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई विस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ ।