रोटरी क्लब अफ रत्ननगरले मिनी म्याराथुन दौड आयोजना गर्ने

February 8, 2024
Rotary Club ratnanagar
Rotary Club ratnanagar

रत्ननगर, माघ २२- रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथुन आयोजना गर्ने भएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो । आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । कार्यक्रम संयोजक विपिन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) हरुले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।

उहाँका अनुसार १५.५ किलोमिटरको खुल्ल प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिता हुने छन् । १५.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट शुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दुरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जंंगल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ । १५.५ किमीको प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक समेतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो “प्रतियोगितामा खेलाडी मात्रै होइन आम सर्वसाधारण पनि सहभागी हुन पाउनु हुनेछ ।”

साथै सिमान्तकृत चेपाङ्ग समुदायका धावकहरुलाई विशेष प्रोत्साहन गरिने उहाँको भनाई छ । प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाहरुको पहिचान एवं प्रबद्र्धन गर्ने उद्देश्यबाट समेत यो मिनी म्याराथुन आयोजना गर्न लागिएको हो । उहाँले भन्नुभयो “मूलतः भरतपुर महानगरपालिकाको आयोजनामा घुमौं भरतपुर भन्ने नाराका साथ फागुन १८ बाट शुरु हुने भरतपुर भ्रमण वर्षलाई समेत प्र्रबद्र्धन गर्ने उद्देश्य यस प्रतियोगिताको रहेको छ ।”

रोटरी डिष्ट्रिक ३२९२ जोन ३७ का एसिस्टेण्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५.५ किलोमिटरतर्फको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, प्रमाणपत्र र चाँदीको मेडल प्रदान गरिने छ । यसैगरी दोस्रो हुनेलाई ५० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई २५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार, पाँचौं हुनेलाई ५ हजार र छैठौंदेखि १० औंसम्मलाई ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिने छ । दूरी पूरा गर्ने सबै चेपाङ्गलाई रु.२ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

यसैगरी पाँच किलोमिटर महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार प्रमाणपत्र र चाँदीको मेडल, दोस्रो हुनेलाई १० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई ५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार, पाँचौं हुनेलाई २ हजार ५ सय, छैठौंदेखि १० औंसम्मलाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । दूरी पूरा गर्ने महिला चेपाङ्गलाई रु.१ हजार नगद प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रथम पुरस्कार रु.१ लाख एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले उपलब्ध गराउने भएको छ ।

यस्तै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, गुरु ट्राभल्स एण्ड टुर्स प्रा.लि. काठमाण्डौं लगायतका सहयोगी संस्थाहरु यो अभियानमा जोडिएका छन् । अन्य सहयोगी संस्थाहरु पनि यस अभियानमा जोडिने उहाँले जानकारी दिनुभयो । क्लबले सन् २०१९÷२० मा पहिलो पटक मिनी म्याराथन आयोजना गरेको थियो ।