रत्ननगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै, गुणस्तर सुधार भएको निष्कर्ष

0
110

चितवन,पुस २१ –

रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुँदै गएको निष्कर्ष निकालिएको छ । शैक्षिक गुणस्तर सुधारमा भएका प्रयासहरुको विषयमा छलफल गर्न बुधवार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै जानुले गुणस्तर सुधार भएको निष्कर्ष निकालिएको हो ।

रत्ननगरमा दुई बर्षमा मात्र सामुदायिक विद्यालयमा ४८० जना विद्यार्थी बढेका छन् । रत्ननगरमा समुदायिक विद्यालयमा ११ हजार ३७ जना विद्यार्थी अध्यायनरत रहेको नगर शिक्षा अधिकृत राजेन्द्र बरालले जानकारी दिए । रत्ननगर नगरपालिकाले नगर भित्रका पाँचवटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेको छ । प्राविधिक शिक्षा अन्तर्गत जनजागृती मावि पिठुवामा सिभिल इन्जिनियरिङ,नेपाल नमुना मावि टाँडीमा कृषि,बैरिया माविमा भेटेरेनरी,बछौली माविमा होटल मेनेजमेण्ट र पञ्चकन्या मावि जयमंगलामा इलेक्ट्रिक धारको पढाइ सुरु गरिएको छ ।

सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण,शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको आर्कषण बढ्दै गएको निष्कर्ष निकालिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले बताए । कार्यक्रममा पञ्चकन्या जयमंगलाकी प्रधानाध्यापक अनिता पौडेल,झुवानी माविका प्रधानाध्यापक दुर्गा नेपाली,नेपाल नमुना माविका प्रधानाध्यापक बुद्धि सुवेदी,जमुनापुर आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वहरि आचार्य,मोहना माविका प्रधानाध्यापक दयाराम ढकाल,देवौली आधारभूत विद्यालयमा प्रधानाध्यापक रमेश आचार्य,भद्रकालि माविका प्रधानाध्यापक तिलक कुँवर,ओमशान्ति आधारभूत विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले विद्यालयका शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेयर नारायण वनले रत्ननगरका शिक्षाको हब बनाउन प्राविधिक शिक्षा सुरु गरिएको बताए । सामुदायिक विद्यालयमा विद्यालय समायोजन,शिक्षक दरबन्दी मिलान र शिक्षकको आन्तरिक सुरुवा पेचिलो विषय रहेको भन्दै मेयर वनले विद्यार्थी थोरै रहेका विद्यालयहरुलाई समायोजन गरी शिक्षण शिकाईलाई प्रभाबकारी बनाइएको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेल,खैरहनी नगरपालिकाका शिक्षा अधिकारी राजु बानिया,बछौली माविमा अध्यक्ष राममणि खनाल लगायतले मन्तव्य राखेका थिए ।