रत्ननगर-१६ मा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छ जना सम्मानित

0
145

निराजन घिमिरे, चितवन, पुस १५–  चितवनको रत्ननगर १६ खैरेटीमा रहेको हिमालयन तिम्ला गुरुङ समाजले तमु लोसार २०७८ को अवसरमा आँशिमाला” (शुभकामना) आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

मुनाल टोलमा रहेको सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रत्ननगर नगर प्रमुख नारायण वन, विशिष्ट अतिथिको रुपमा वडाध्यक्ष हेमराज थापा उपस्थित हुनुहुन्थ्यो ।

त्यस्तै अतिथिको रुपमा नगर कार्यपालिका सदस्य तथा वडा सदस्य रिता बि.क वडा सदस्यद्वय विष्णुप्रसाद रिमाल र पवित्रा गुरुङ, एकीकृत कृषक बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु प्रसाद अर्याल, भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापा, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आशिक तामांग, वडा मेलमिलाप समितिका संयोजक दिल बहादुर थापा, पिठुवा सिंचाई सु-व्यवस्था समितिका अध्यक्ष कोषप्रसाद पोखरेल, संस्थाका पुर्व अध्यक्ष बुद्धिमान गुरुङ, सातकन्या सामुदायिक वनका प्रतिनिधि कृष्ण प्रसाद अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पिठुवा खानेपानीका अध्यक्ष आशिक तामांगले जनजाती समुदायले संस्कृति संरक्षण संगै राज्यका निकायहरुमा जनजाती समुदायको उपस्थिति बढाउने किसिमको कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । लोक सेवा आयोगको प्रसङ्ग निकाल्दै तामांगले संस्थाको अगुवाईमा जनजाती विद्यार्थीहरुको लागी लोकसेवा तयारी कक्षा संचालन गर्न सुझाव दिनुभयो ।

त्यस्तै शुभकामना मन्तव्य व्यक्त गर्दै विशिष्ट अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले संस्कृति जोगाउने यस किसिमको कार्यक्रम गर्ने संस्थाको लागी वडाकार्यालयको तर्फबाट दश हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै शुभकामना मन्तव्य राख्दै नगरप्रमुख नारायण वनले जनजाती समुदायलाई सांस्कृतिक र धार्मिक अतिक्रमण बाट सचेत रहन सुझाब दिनुभयो ।

गरिब जनजातीलाई लोभ्याएर धर्म परिवर्तन गर्ने मिसन चलिरहेको तर्फ सचेत रहन उँहाको आग्रह छ । मन्तव्यको क्रममा नगरप्रमुख वनले मुनाल टोलमा रहेको सामुदायिक भवनलाई तारबार गर्न नगरापालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बुद्धिमान गुरुङ, एकीकृत कृषक सहकारीका अध्यक्ष विष्णुप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तमु ल्होसार बिशेष गरी नेपाली पात्रोअनुसार पुष १५ का दिन मनाउने चलन छ। तमू भाषामा ल्हो (बर्ग) र सार (नयाँ पालुवा फुल्नु/फेर्नु ) भन्ने जनाउँदछ। पुरानो बर्गलाई बिदाई गर्दै नयाँ ल्हो (बर्ग) को आगमनको उपलक्ष्यमा नयाँ बर्षको रुपमा यो चाड मनाईन्छ। तमूहरुको यस महान चाड ल्होसारको उपलक्ष्यमा तमूहरुले एक अर्काप्रति “आँशिमाला” (शुभकामना) आदानप्रदान गर्ने चलन छ। तमुहरुमा कुन सालमा जन्मेको भन्दा पनि कुन ल्हो हो भन्ने कुरामा उमेरको गन्ति गर्दछ साथै बिबाह, शुभ कामहरुको थालनी गर्दा पनि प्रायजसो ल्हो नै हेराएर गरिन्छ।रत्ननगर-१६ मा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छ जना सम्मानित 1

कार्यक्रममा आफ्ना वयोवृद्ध आमाबुबा तथा अभिभावकहरुलाई उत्कृष्ट सेवा एवं पालनपोषण गर्ने छ जनालाई सम्मान समेत गरिएको छ । आफ्ना आमाबुबा तथा सासुससुरालाई राम्रो हेरचाह गर्ने रामप्रसाद पौडेल, सविता गुरुङ र ज्ञानु भण्डारी सम्मानित हुनुभएको छ । त्यस्तै आफ्ना हजुरबुबाको राम्रो हेरचाह गर्ने सागर पुडासैनी र आफ्नो १०६ वर्षिय जिजुहजुरबुवाको उत्कृष्ट सेवा गर्ने एलिश थापा सम्मानित भएकाछन् । कार्यक्रममा अपांगता भए पनि हिम्मत गरेर मुखले कलम  च्यापेर लेख्दै भर्खरै मात्र कक्षा १२ उतिर्ण भएका भरत गुरुङलाई पनि सम्मान गरिएको छ ।  भरतलाई सम्मान गर्दै नगरप्रमुख नारायण वनले उनको व्याचलर अध्ययनमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यवस्था गर्ने उद्घोष गर्नुभयो ।रत्ननगर-१६ मा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छ जना सम्मानित 2

 

संस्थाले प्रत्येक वर्ष लोसारको दिनमा विशेष कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।  २०६२ सालमा गुरुङ समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संस्थाको गठन गरिएको हो ।  स्थानीय गुरुङ समुदाय बाट चन्दा उठाएर जम्मा गरिएको ४ लाख ५० हजार रुपियाँले खरिद गरिएको घडेरीमा विभिन्न संघसंस्था र स्थानीय सरकार तथा सांसद विकास कोष बाट प्राप्त रकम बाट सामुदायिक भवनको निर्माण गरिएको छ ।