ओली-नेपाल वार्ता सकियो ,निश्कर्ष आएन

0
288

काठमाडौं,असार २३- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भएको वार्ता सकिएको छ ।

वार्ता सकारात्मक भए पनि ठोस सहमति नभएको वार्तामा सहभागी नेताहरुले जनाएका छन् ।

वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।

यसैगरी वार्तामा सहभागी अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो । त्यसपछि ओली-नेपाल वान अन वान वार्तामा बसेका थिए ।

पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ । भोलि बस्ने कार्यदलको बैठकपछि ठोस निष्कर्ष निस्किन्छ ।’

वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी थिए । ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी भएका थिए भने नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।

यसअघि गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।