राष्ट्रिय परीक्षा बोर्ड द्वारा कक्षा १२ को वार्षिक परीक्षा भौतिक रूपमा नै लिने तयारी

0
502

काठमाडौँ, असार २१ – राष्ट्रिय परीक्षा बोर्ड कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा भौतिक रूपमा नै लिने तयारी गरेको छ ।

माध्यमिक शिक्षाको अन्तिम परीक्षा भएकाले सकेसम्म भौतिकरूपमा लिखित परीक्षा लिनुपर्छ भन्ने विज्ञहरुको सुझाबअनुसार परीक्षा बोर्डले तयारी गर्न थालेको हो ।

सोही योजनाअनुरूप बोर्डले आउँदो साउन मसान्तभित्र परीक्षा सम्पन्न हुने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमतिका लागि गत बिहीबार पत्राचार गरेको छ ।

शिक्षा मन्त्रालयले भने कुनै निर्णय दिएको छैन । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यस विषयमा मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन ।

शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को राय र निर्णय अनुसारमात्रै शिक्षा मन्त्रालयले निर्णय दिन सक्ने बताए । उनले यसमा शिक्षा मन्त्रालयको आफ्नो भनाइ नहुने तथा सीसीएमसी र विज्ञहरुको सल्लाह बमोजिम निर्णय हुने बताए ।

यसअघि कक्षा १२ को परीक्षा गत जेठ २६ गते शुरू हुने तय भएको थियो । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदा परीक्षा स्थगित भएको भएको थियो ।