निषेधाज्ञा र लकडाउन पछी ‘स्मार्ट लकडाउन’ गर्ने सरकारको तयारी

0
504

काठमाडौँ, असार ४–कोरोना संक्रमणमा केही कमी आएपछि सरकारले ‘स्मार्ट लकडाउन’को अवधारण अघि बढाएको छ ।

‘निषेधाज्ञा र लकडाउनभन्दा अर्को विकल्प हो स्मार्ट लकडाउन। यसमा मानिसले केही सहज अनुभूति गर्छन्। सबै क्षेत्रमा बन्देज लगाइएको हुँदैन,’ कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख पूर्वरथी बालानन्द शर्माले भने।

लकडाउन गर्दा सार्वजनिक तथा निजी यातायात सबै बन्द गएका थिए। त्यसपछिको निषेधाज्ञामा केही सवारी साधनलाई खुकुलो बनाइयो। त्यसपछि कोरोना संक्रमण कम हुँदै जाँदा सवारी साधनमा जोर बिजोर प्रणाली लागू भयो। जोरबिजोर प्रणाली अनुसार करिब आधा सवारी साधनमात्र सडकमा देखिए। तर, अब यहि प्रक्रिया स्मार्ट लकडाउनमा फरक हुने भएको छ।संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्रलाई बिस्तारै खुला गर्ने सरकारको योजना छ ।

अब जोरबिजोर नभएर सवारी अन्तिम सङ्ख्याको आधारमा निर्धारण गरिने छ। जस्तो कि तपाईको सवारीको अन्तिम सङ्ख्या ० देखि ९ सम्म हुन्छ। त्यसलाई वर्गीकरण गरेर ० देखि ३ सम्म आइतबार, ४ देखि ७ सम्म सोमबार ८ र ९ बुधवार जस्तै गरेर सञ्चालनमा ल्याउन तयारी गरेको छ।

‘संक्रमणदर हेर्न त्यसपछि कति सवारी साधन सडकमा ल्याउँदा हुन्छ भन्ने मूल्याङ्कन गरेर वान थर्ड, आधा वा टु थर्ड ल्याउने भन्ने हो,’ प्रमुख शर्माले भने।

त्यस्तै, अन्य व्यापार व्यवसाय पनि स्मार्ट लकडाउनमा खुल्ला हुनेछन्। अहिले जस्तो अत्यावश्यक, खाद्यान्न लगायत पसलहरूमा मात्र खुला हुनेछैन। समितिले तयार पारेको स्मार्ट लकडाउन मोडिलाटी अनुसार सबै पसलहरू खुल्ने छ। तर, समय निर्धारण गरिने छ। जस्तो खाद्यान्नलाई ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म, हार्डवेयर पसल तथा अन्य पसलहरू १ देखि ४ बजेसम्म गरेर पसलको वर्गीकरण गरेर खोलिनेछ।

‘यो मोडालिटीले सबै पसलहरू खोल्न पाए। मानिसले जे आवश्यकता छ त्यो पसल खुलेको समयमा मात्र निस्किने भए। अन्य मानिस घरमा नै बस्ने भए। यसले मानिसको भिड कम भयो। व्यापार व्यवसायमा पनि खासै असर नपर्ने देखियो,’ समितिका एक सदस्यले सुनाए।

स्मार्ट लकडाउनको अर्को मोडालिटीमा अनलाइन व्यापारहरूलाई पनि प्रोत्साहन गर्ने देखिएको छ। जसमा १० जना डेलिभरी व्यक्तिलाई सडकमा निस्किन दिँदा १ हजार सामान किन्ने मानिसको सङ्ख्या कम हुने अनुमान गरिएको छ। त्यस्तै सेक्टरल रूपमा निषेधाज्ञा गर्नु पनि स्मार्ट मोडालिटीभित्र परेको छ। जस्तो आइतबार चावहिल क्षेत्रमा पसल खुल्न गर्ने, सोमवार जाउलाखेल क्षेत्रमा, मङ्गलवार न्युरोडमा।

‘स्मार्ट लकडाउनले विकल्प खोज्छ। संक्रमण हेरेर त्यसलाई के गर्ने भन्ने कुरामा छलफल हुने हो,’ प्रमुख शर्माले भने।

समितिले तयार पारेको स्मार्ट लकडाउनको मोडालिटीमा केही दिन खुकुलो गर्ने र केही दिन ठप्प पार्ने गरी तयार गर्ने विषयमा पनि छलफल भएको थियो। तर, त्यो सर्वसम्मतिले पास हुन सकेन। अहिले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अझै प्रभावकारी देखिएको खण्डमा स्मार्ट लकडाउन नलगाएर निषेधाज्ञालाई नै प्राथमिकता दिने विषयमा समेत छलफल भइरहेको छ।