प्रदेश २ द्वारा ३३ अर्ब ७९ करोडको बजेट सार्वजनिक

0
483

जनकपुुरधाम,असार १- प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याएको छ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रूपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट ल्याएको छ।

गत वर्ष प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेटमध्ये चालूतर्फ ४६.२६ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ ५३.४ प्रतिशत अर्थात् १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ ०.३ प्रतिशत अर्थात् १० करोड विनियोजन गरिएको छ।

सरकारले बजेटको व्यवस्थापन आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार ल्याएको छ भने नेपाल सरकारबाट  प्राप्त अनुदान १३ अर्ब ९० करोड ३४ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ३५ करोड रकमबाट बजेट व्यवस्थापन गरिने छ।

त्यस्तै कम भएको १ अर्ब न्यून रकम आन्तरिक ऋणबाट व्यवस्थापन गरिने छ।

सरकारले स्थानीय तहहरूको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ।

प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९का लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ।

यसका साथै कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको, बेरोजगारी दर बढेकोले यसपालिको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सृजना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ। यसका साथै आगामी बजेटमा केही पुरानै कार्यक्रमलाई समेत विशेष प्राथमिकताका साथ समावेश गरिएको छ।

आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, औषधि लगायत  खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ।

प्रदेशमा मिर्गौला रोगीहरूको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा उपलब्ध गराउनका लागि ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रूपैयाँ  रकम विनियोजन गरिएको हो।

प्रदेश सरकारले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिरहेको मणिपाल कोभिड अस्पताल तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरूआत गर्नका लागि भौतिक संरचना निर्माण गर्न १० करोड बजेट विनियोजन गरेको छ। कम पर्न जाने रकम आन्तरिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ।

प्रदेश सरकारले प्रदेशको शैक्षिकस्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना सामुदायिक विद्यालयको विकास तथा विद्यालयहरूको भौतिक संरचना सुधार गर्नका लागि २४ करोड रूपैयाँ विनियोजन गरेको हो।

विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदानको निर्माणका लागि बजेट छुट्याइएको छ। यस कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ।

आदिवासी, दलित, जनजाति, मधेश आन्दोलनमा शहिद भएको परिवारको छात्रवृत्तिका लागि २ करोड रूपैयाँ विनियोजन गरिएको छ।

एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै सो कार्यक्रमका लागि १ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको हो।

प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम सुरूआत गर्नका लागि ८ करोड, मझौला सिँचाइ कार्यक्रमका लागि ४१ करोड, बाढीको प्रकोप कम गर्न नदी नियन्त्रण कार्यक्रमका लागि ३० करोड, वडादेखि पालिकाको सदरमुकाम सम्मको सडक निर्माणका लागि ६८ करोड रकम विनियोजन गरिएको छ।

रामराजा सिंह, गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि ४ करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको हो।

त्यस्तै, प्रदेश सरकारको महत्वाकांक्षी योजना बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरिएको हो।