सन्तोष बस्ताकोटी,चितवन जेठ २९- निषेधाज्ञाका कारण समस्यामा परेका चितवनको इच्छाकामना गाउँपालिका वडा नं -१ हात्तीवाङका सीमान्तकृत चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ। सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले त्यहाँका ७१० चेपाङ परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।
प्रतियोगितामार्फत चेपाङ समुदायको जीवनस्तर सुर्धान हात्तीवाङमा तीन बर्षे परियोजना लागू गरेको इम्प्याक्टले निषेधाज्ञाका कारण त्यस क्षेत्रमा भोकमरी लाग्न थालेपछि एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको हो । हात्तीवाङको रमसिंह डाँडा र कोलभन्ज्याङमा कार्यक्रमको आयोजना गरी प्रतिपरिवार २० किलो चामल, दाल, नुन र तेल हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा १२ लाख बराबरको खाद्य सामग्री वितरण गरिएको छ।
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ, इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडाध्यक्ष नन्दुलाल गिरीले खाद्य सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा गाउँपालिकाकी अध्यक्ष गुरुङले सपना भिलेजले गरेको कामले चेपाङ समुदायमा सामाजिक परिर्वतन सुरु भएको बताइन् ।अध्यक्ष गुरूङले यस्तो महामारीको समयमा सपना भिलेज सोसियल इम्ज्याक्टद्वारा गरिएको यस किसिमको पवित्र कार्यको खुलेर प्रसंसा गर्नुभयो ।कार्यक्रममा सपना भिलेजका अध्यक्ष गिरीले हात्तीवाङमा सुरु गरिएको परियोजनाअन्तर्गत नै राहत वितरण गरिएको बताए। ‘एक वर्षको अबधिमा हामीले केही न केही परिर्वतन ल्याएको महसुस गरेका छौँ’, उनले भने, ‘यो समुदायमा प्रतिस्पर्धामार्फत हामीले आर्थिक तथा सामाजिक परिर्वतन ल्याउदैछौँ ।’
कोरोना भाइरस को दोस्रो लहर अलि फरक प्रकारको भएको ले डाक्टरहरूसँग सोधपुछ गर्दै अहिलेको यो विषम परिस्थितिमा आम नागरिकलाई सास फेर्न गाह्रो परेर मृत्युको मुखसम्म पुग्न नपरोस् भन्दै गासको भन्दा बढि सासको आवश्यक रहेको कुरालाई आत्मासात गर्दै अघि बढेको बताए । बाच्ने पहिलो आधार नै अक्सिजन भएको हुदाँ सुरूमा ५ वटा अक्सिजन सिलिन्डर समेत वितरण गरिएको अध्यक्ष गिरीले बताए ।
गिरीका अनुसार दिर्घकालिन रूपमा यहाँका आम व्यक्तिहरूलाई व्यवसायीक बनाउनको लागि यस संस्थाले व्यवसायी रूपमा लैजान धेरै भन्दा धेरै फलफुलको बिरूवा र बाख्रा पालन गर्न चाहनेहरूका लागि बाख्रा बोका समेत वितरण गर्दै आइरहेको बताए ।
सो कार्यक्रममा राहत सामग्री लिन आएका स्थानिय दिलबहादुर चेपाङ हर्षले गद गद थिए । महामरीको समयमा यती राम्रो कार्यक्रम गरेकोमा उनले खुशी व्यक्त गर्दै यो संस्थाले हात्तीवाङ क्षेत्रमा एउटा सरकारको जिम्मेवारी निर्वाह गरेको समेत बताए ।राहत सामग्री लिन आएकी स्थानिय रोजिनाराना मगरले माना खानेले पाँच मुठ्ठी खाएर जीवन गुजारिरहेको बेलामा राहत वितरण गर्न आउदा भगवान आए बराबर रहेको बताए ।
इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत, कर्मचारीहरु अनिल अर्याल र मीनराज सापकोटाले राहत वितरण कार्यक्रममा सहजीकरण गरेका थिए ।कार्यक्रम सपना भिलेज सोसियल इम्ज्याक्टका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
प्रकाशित मिति: