चितवन, जेठ १९–
चितवनका सहकारी संस्थाहरु भोलिदेखि संचालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बुधबार) थप एक साता निषेधाज्ञा लम्ब्याउँदै सहकारी संस्थाहरु खोल्न दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ग्रामीण भेगका धेरै मानिसहरु सहकारी संस्थामा आवद्ध भएकाले उनीहरुको मागलाई सम्बोधन गर्दै वाणिज्य बैंकहरु जस्तै गरी सातामा तीन दिन खोल्न दिने निर्णय भएको जानकारी दिए । ‘अहिले रोपाइँको बेला भएकाले पनि सहकारी खोल्न माग धेरै भएपछि भिडभाड हुन नदिने गरी खोल्न दिने निर्णय गरेका छौँ’–प्रजिअ लामिछानेले भने ।
यस निर्णय संगै जिल्लाका सहकारी संस्थाहरु आइतबार, मंगलबार र बिहीबार तोकिएका जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गराई खोल्न पाउने छन् । त्यसका लागि सहकारीले पनि न्यूनतम कर्मचारी मात्रै खटाउन पाउने छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाई गर्दै गत जेठ १ गतेदेखि २० गतेसम्म अतिआवश्यक प्रायोजनका लागि वाणिज्य बैंकहरु सातामा तीन दिन सिमित कर्मचारी खटाएर खोल्न दिने निर्णय गरेको थियो । सहकारीलगायत अन्य वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ती जारी गर्दै जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । अन्य निर्णयहरु यथावत छन्।
प्रकाशित मिति: