काठमाडौं,१७ जेठ- म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको छ ।
वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको उनले बताए ।
वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका डा. निरज सिंहले बताए ।
यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । ‘तीन जना कोरोना संक्रमितमा कालो ढुसीसँग मिल्दो लक्षण देखिएका थिए,’ डा पाण्डेले भने, ‘दुई जनाको उपचार प्रक्रिया नथाल्दै मृत्यु हुन गयो । एकजनालाई भने काठमाडौं रेफर गरिएको थियो ।’
अस्पतालमा फंगसको परीक्षण नहुने भएकाले औपचारिक पुष्टि भने हुन नसकेको डा. पाण्डेले बताए ।
भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो ।