स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्डनीय मानिने : प्रधानमन्त्री ओली

0
396

काठमाडौं,जेठ १४- प्रधानमन्त्री केपी प्रसाद ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको जनशक्तिको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताएका छन्। शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा त्यसलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्‍डनीय मानिने बताए।

‘अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्‍ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्‍डनीय मानिनेछ,’ उनले भने।

‘आफ्नो निजी जीवन र पारिवारिक जिम्मेवारीलाई पन्छाएर संक्रमितको उपचारमा अहोरात्र खट्ने उहाँहरु हाम्रा हामी सबैका आदर र हकदार हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘महामारीविरुद्ध लडिरहेका जनशक्तिको सुरक्षामा सरकारले कुनै कसर बाँकी राख्दैन।’

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिवद्धता व्यक्त गरेका छन्। महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट पारे।