परिश्रम अनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि रैथाने जातका बीउ खोज्दै कृषक

0
42

डडेल्धुरा, माघ ३० –

बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन् ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन् । चैत महिनासम्म पनि भित्र्याउन मिल्ने ‘चोतो’ आर्थात् रैथाने जातको मूला बजारमा भेटिँदैन । एउटा घरमा पाकेपछि टोलभरि नै वासना आउने अर्को रैथाने जातको काउली बजार नआएको डेढ दशक भइसकेको छ । परम्परागत जातका कागती र सुन्तला पनि हराइसकेका छन् । रैथाने जातको अदुवा र लसुन पनि पछिल्लो समय बजारमा पातलिएको छ ।

अमरगढी–१का कृषक रामबहादुर ऐर पछिल्लो समय परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भइरहेको बताउनुहुन्छ । पहाडमा उत्पादित वस्तुको उसै पनि राम्रो बजार रहेको बताउँदै ऐरले भन्नुभयो, “पहाडकै रैथाने जातको उत्पादनले झन् राम्रो मूल्य पाउन थालेपछि हाइब्रिड र उन्नत जातका बीउबिजन प्रयोग गरी व्यावसायिक खेती गर्ने कृषक पनि रैथाने जातका बीउबिजन खोज्न थालेका छन् ।”

तराईमा उत्पादन हुने र पछिल्लो समय बङ्गलादेशबाट आयात गरिएको मासभन्दा पहाडी क्षेत्रमा उत्पादन भएको मासले दोब्बर मूल्य पाउने गरेको किसानहरूको भनाइ छ । डडेल्धुरा अजयमेरु गाउँपालिका–५ का अगुवा कृषक तेजबहादुर खड्काले भन्नुभयोे, “मास मात्र होइन, रैथाने जातको भटमास, गहत, राजमा, बोडी र सिमीलगायतका वस्तुको माग पनि त्यत्तिकै बढ्न थालेपछि कृषक यी कृषि उपजको उत्पादनमा लागेका छन् ।”

डडेल्धुरामा उत्पादन भएको राजमा, गहत र मास सिधै राजधानी काठमाडौँ पुग्न थालेको जनाइएको छ । त्योभन्दा परम्परागत जातका बीउबिजनबाट उत्पादित वस्तुको सानो बजार भए पनि मुनाफा राम्रो हुने गरेकाले लोप हुन थालेका परम्परागत बीउबिजन पुनः प्रयोग हुन थालेको हो । कृषक खड्काले थप्नुभयो, “हाइब्रिड र सरकारले तोकेको उन्नत जातका बीउबाट धेरै उत्पादन हुने भए पनि बजारमा तीव्र प्रतिस्पर्धा, बिचौलियामार्फत बिक्री वितरण गर्नुपर्ने बाध्यता र उचित मूल्य पनि पाउन मुस्किल हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।”

सीमावर्ती क्षेत्रमा नेपाली बजारलाई लक्षित गरी भारतीय कृषकले उत्पादन गरेको हाइब्रिड जातका उत्पादनसँग पहाडी क्षेत्रका कृषकले प्रतिस्पर्धा गर्न निकै कठिन हुन थालेको कृषकहरूको अनुभव छ । स्थानीय कृषक धनीराम जोशीले भन्नुभयो, “सीमापारि भारतीय क्षेत्रमा उत्पादित भई भित्रिने कृषि उपजसँग प्रतिस्पर्धा गर्न भने स्थानीय किसानलाई समस्या भइरहेको छ ।”

परम्परागत बीउबिजनको प्रयोगबाट हुने उत्पादनको बजार पहाडी जिल्लामा प्रशस्त रहेको कृषक जोशीले बताउनुभयो । सरकारले पनि रैथाने बीउबिजनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कृषि नीति तय गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्ट बताउनुहुन्छ । रैथाने जातका बीउबिजनको प्रयोग जैविक विविधताको संरक्षणसँग समेत जोडिएको विषय भएको उहाँको भनाइ छ ।

“विसं २०६१ मा बनेको कृषि नीतिमा पनि रैथाने र परम्परागत जातका बीउबिजन संरक्षण तथा व्यावहारिक प्रयोगमा ल्याउन सकिने खाले कार्यक्रम तय गर्ने उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो । पहाडी क्षेत्रमा अहिले पनि परम्परागत र रैथाने बीउबिजनको प्रयोग भइरहेकाले यसको संरक्षणमा कठिनाइ नरहेको कृषि प्राविधिकको भनाइ छ ।

सदरमुकाम आसपासका कृषकहरूले ठूलो मात्रामा व्यावसायिक खेती गरिरहेका कारण हाइब्रिड र उन्नत जात प्रयोग गरे पनि कतिपय ग्रामीण क्षेत्रमा भने रैथाने बीउको प्रयोग बढ्न थालेको छ । रैथाने जातका बीउको प्रयोग र संरक्षणको प्रयासमा अन्य जिल्लाका किसान लागेको स्थानीय किसानको भनाइ छ ।

हाइब्रिड जातका कृषि उपजभन्दा रैथाने जातका कृषि उपज खानमा बढी स्वादिलो हुने गरेको कृषकको भनाइ छ । रैथाने जातको आलु, मुलालगायतको खेती गर्दा पनि रोग किराको समस्या त्यति नदेखिने बताइन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here