मनाङ, माघ २३-
लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ ।
करीब दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो स्वतः नियन्त्रणमा आउन लागेको लामिछानेले बताउनुभयो । “हिउँ नपर्दा मनाङका जङ्गलमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो, आज बिहानैबाट हिउँ पर्न थालेपछि आगो नियन्त्रणमा आइरहेको छ, हिउँ पर्न थालेपछि पूर्णरुपमा आगलागी नियन्त्रणमा आउनेछ”, उहाँले भन्नुभयो । मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उहाँको भनाइ छ ।
हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका–८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताउनुभयो । “आगलागी हुँदा कैयौँ दिन खान र सुत्नसमेत सकेका थिएनौँ, हिउँ परेपछि आगो नियन्त्रणमा आएको छ, खुशी लागेको छ”, उहाँले भन्नुभयो । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउनु र हिउँले उत्पादनमा टेवा पु¥याउने भन्दै मनाङवासी हर्षित भएका हुन् । रासस
प्रकाशित मिति: