चितवनका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस विजयी हुन्छः सभापति श्रेष्ठ

0
512

चितवन, पुस २५–

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवनका तीन वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी हुने दावी गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेस चितवन क्षेत्र नं.२ (क)ले आज (शनिबार) पूर्वी चितवनको कालिका नगरपालिकास्थित खोलेसिमल बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले आगामि निर्वाचनमा प्रतिनिधि सभाका तिनवटै निर्वाचन क्षेत्रमा काँग्रेसले बाजी मार्ने बताउनुभयो । ‘काँग्रेस त्यसै सडकमा आएको छैन, हामी पूर्ण तयार भएर आएका छौं, अब काँग्रेसलाई हराउने कसैको तागत छैन ।

’सभापति श्रेष्ठले संसद विघटनको मुद्धामा काँग्रेस सर्वोच्च अदालतको निर्णयलाई नै मान्ने भन्दै निर्वाचनको पक्षमा फैसला गरे काँग्रेस भागेर नहिड्ने बताउनुभयो । ‘पाँच वर्ष काँग्रेस प्रतिपक्षी दल भएरै बस्छ भनेका थियौं, उहाँहरु आफै झगडा गरेर अहिले यस्तो अवस्था आएको छ, हामी चुनावदेखि भाग्दैनौं, चुनाव जितेरै देखाउँछौं’–सभापति श्रेष्ठले भन्नुभयो ।

नेता श्रेष्ठले नेकपा पार्टी अब उठ्दै नसक्ने गरी थला परेको भन्दै नेकपाका कार्यकर्ताहरुलाई काँग्रेसमा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले नेकपाको कुनै पक्षलाई समर्थन र विरोध गर्दै काँग्रेस सडकमा नआएको स्पष्ट पार्दै नेकपाले संविधानलाई नै अपमान गरेकाले बाध्य भएर सडकमा आउनु परेको सभापति श्रेष्ठको भनाई छ । ‘संसद विघटनको दोष केपी ओलीलाई मात्र नभई प्रचण्ड र माधव नेपाल समेतलाई जान्छ, यो अधिनायकबादलाई परास्त गर्ने तागत काँग्रेस र जनतामा छ’–सभापति श्रेष्ठले भन्नुभयो ।

कार्यक्रमका सभापति एवंम काँग्रेसका प्रदेश २ (क) का सभापति टंकनाथ पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफै संविधान विपरीत गएर उल्टै काँग्रेसलाई लोकतन्त्रको बारेमा सिकाउनु ‘इन्द्रको अगाडि स्वर्गको बयान’ गरे जस्तै टिप्पणी गर्नुभएको छ । पौडेलले चितवनबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले उल्लेखीय काम गर्न नसकेको भन्दै गरिबले अझै पनि सुखीको अनुभुति गर्न नपाएको बताउनुभयो । उहाँले स्थानीय सरकार सुकुम्बासीहरुलाई अझै पनि लालपूर्जा वितरण गर्न नसेको भन्दै अब काँग्रेस नेतृत्वले मात्रै सुकुम्बासीको समस्या समाधान गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, क्षेत्र नं.२ का क्षेत्रीय सभापति भरत लामिछाने, काँग्रेस महासमिति सदस्य दीर्घमान श्रेष्ठ, महासमिति सदस्य कमल आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपाका स्थानीय नेताहरु इन्द्र थपलिया र कृष्ण महत नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस जिल्ला सभापति श्रेष्ठले चारतारे झण्डा हस्तान्तरण गरेर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रम प्रदेश सभापति टंकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाली काँग्रेसले शनिबार संसद विघटनविरुद्ध देशव्यापी नै प्रदर्शन गरेको हो । दोस्रो चरणको आन्दोलनअन्तर्गत काँग्रेसले शनिबार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । केन्द्रीय निर्णय अनुसार काँग्रेस चितवनले पनि आज जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ (क) ले विरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय नेता रामहरी खतिवडाले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयले जनमतको कदर नभएको बताउनुभयो । उहाँले नेकपा भित्रको भागबण्डाको विवादले देशलाई दुर्घटनातर्फ डोहोर्‍याएको बताउनुभयो । कार्यक्रम क्षेत्र नम्बर १ (क) का सभापति देवेन लामाको सभापतित्वमा सम्पन्न भएको हो ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ (ख) ले रत्ननगरको बकुलहरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले कुनै पनि हालतमा संसद विघटन हुन नदिने बताउनुभयो । संसद विघटन गरी संविधानमाथि प्रहार गर्न खोजिएकोले जनता सडकमा आउन वाध्य बनाएको उहाँको भनाइ थियो ।

क्षेत्रीय सभापति सुजन थापाको सभापतित्वमा भएको विरोध सभामा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद साबित्री चौधरी, जिल्ला प्रतिनिधिको तर्फबाट जिल्ला प्रवक्ता निता ढकालललगायतले बोल्नु भएको थियो ।

यस्तै क्षेत्र नम्बर २ (ख) को सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले संसद विघटन अलोकन्तान्त्रिक र असंवैधानिक कदम भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने अलोकन्तान्त्रीक कदम सच्याउनु पर्ने बताउनुभयो ।

काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले संविधानमा संसद विघटन गर्ने कुनै अधिकार नभएको भन्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउनुभयो । उहाँले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम सचिन्नु पर्ने बताउनुभयो । उहाँले कम्युनिष्टहरुले भागबण्डाले अहिलेको अवस्था सृजना भएको आरोप समेत लगाउनुभयो । क्षेत्र नम्बर २ (ख) का सभापति डा गुणराज क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेतृ उमा मरासैनी, मिलनबाबु श्रेष्ठ, पार्वती शाह, राजेश्वर खनाल लगायतले बोल्नु भएको थियो ।

यस्तै क्षेत्र नम्बर ३ (क) ले पश्चिम चितवनको रामपुर बजारमा आयोजना गरेको विरोध सभालाई प्रमुख अतिथी नेपाली काँग्रेसका नेता टेकबहादुर गुरुङसहित रामकृष्ण घिमिरे, राजिव न्यौपाने लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम क्षेत्र नम्बर ३ (क) का सभापति अमृत बाँनियाको सभापतित्वमा सम्पन्न भएको हो ।

उता क्षेत्र नम्बर ३ (ख) ले शिवनगर बजारमा आयोजना गरेको कार्यक्रमलाइै सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस चितवनका कोषाध्यक्ष शंकर कँडेलले कम्युनिष्ट पार्टी सरकार चलाउन पूर्ण रुपमा असफल भएको बताउनुभयो । संसद विघटन जस्तो गैरसंवैधानिक कदम चालेर सरकारले जनमतको कदर गर्न नसकेको उहाँको भनाई थियो ।

क्षेत्र नम्बर ३ (ख) का सभापति लालबहादुर दवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेतृ सबिता बराल, नेता साजन महतोलगायतले बोल्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्