सम्झनामा राष्ट्रकवी माधव प्रसाद घिमिरे

0
1090

-राजीव खत्री(स्काउटर/पत्रकार),काठमाडौंँ

सम्झनामा राष्ट्रकवी माधव प्रसाद घिमिरे 1

आज माधव घिमिरेको तेह्रौ पुन्यतिथि । उहाँ सँगको एउटा विषेश सम्झना आज यो मैले स्काउटर माधवप्रसाद घिमिरेको लागि समर्पण गर्दै लेखेको हुँ । स्काउट माधवप्रसाद घिमिरेलाई तपाईले चिन्नु नभएको हुनसक्छ ।

उहाँलाई स्काउटरका रुपमा चिन्न र चिनाउँन पाउँदा म आफैले पनि स्काउटर हुनुमा गौरवको अनुभुति गर्छु । उहाँ पनि स्काउटर हो भन्दै गर्दा म पनि त स्काउटर हुँ भन्ने गर्वको अनुभव हुन्छ । यो अनुभव मेरो स्काउटिङ जीवनको वरदान हो ।

स्काउटर माधवप्रसाद घिमिरेमै फर्कौं । उहाँलाई तपाई राष्ट्रकविका रुपमा चिन्नुहुन्छ । उहाँ कविता नपढेका वा नसुनेका मान्छे सायद असाध्यै कम छन् । त्यस्ता व्यक्तित्वसँग भेट हुने मौका जुर्यो, स्काउटको कार्यक्रमका कारण ।

डायनामिक स्काउट क््रयूको पहिलो बार्षिकोत्सव मनाउँने प्रसंग चल्दै थियो । संयोग के भयो भने त्यहि वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे १०० वर्षको उमेर छुदै हुनुहुन्थ्यो । उहाँ २००९ सालमा नेपाल स्काउटको स्थापना हुँदा समयको पहिलो स्काउट लिडर पनि हुनुहुन्थ्यो ।सम्झनामा राष्ट्रकवी माधव प्रसाद घिमिरे 2यो सुन्दा हामी धेरै आश्चर्यमा पर्यौं । स्काउट हुनुको अर्थमा यो हाम्रो लागि रोमाञ्चक कुरा थियो । हामीले डाइनामिक क््रयूको पहिलो बर्ष राष्ट्रकविका रुपमा चिरपरिचत स्काउटर माधवप्रसाद घिमिरेमा समर्पण गर्ने निधो गर्यौं ।

हामी राष्ट्रकविको लैनचौर स्थित घिमिरेको निवासमा थियौँ । स्काउटको पहिलो मास्टर तालिम लिँदाका उहाँका अनुभव सुन्नु हाम्रो उद्देश्य थियो । हामीले स्काउटको परिचय दिन स्काउटको पोशाक लगाएका थियौँ । हामी पुग्दा कमै मात्रमा बाहिर सार्वजनिक कार्यक्रममा देखा पर्ने स्काउटर राष्ट्रकवि आफ्नै निवासको वैठक कोठामा एक कविता संग्रहको विमोचनमा व्यस्त हुनुहुन्थ्यो ।

स्काउटको पोशाक लगाएका हामी १२ जनाको समूहलाई देख्नासाथ हात कमाउँदै विस्तारै तीन औलाको स्काउट सलाम गर्नुभयो । उहाँका अनुभव र उमेरले चाउरिएका हातको स्काउट सलाम पाउँदा स्काउट हुनुको गर्वले हाम्रो एक पटक छाती ढक्क फुलेर आयो ।सम्झनामा राष्ट्रकवी माधव प्रसाद घिमिरे 3क्र्युका अध्यक्ष श्रीवत्स बस्न्यात र रोभर लिडर सन्तोष थापाले एकै स्वरमा ‘स्काउट ! स्काउट पंज ताली’ भनेर कमाण्ड गर्नुभयो । सबैले ताली बजाएर साहित्यिक माहोलबाट हाम्रो स्काउटको माहोलमा राष्ट्रकविलाई स्वागत गर्यौं । उहाँको मुहारमा एक प्रकारको कान्ति छाएको हामीले प्रष्ट अनुभूत गर्यौं ।

स्काउट पोशाकमा उहाँलाई हेर्ने हाम्रो ठूलो धोको थियो । केहि छिनको परिचय र हाँसो ठट्टा पछि हामीले साथमा लिएर गएको स्काउट पोशाक उहाँलाइ लगाई दियौँ । आहा ! स्काउट पोशाकमा ठाँटिएका हाम्रा राष्ट्रकवि अब हामीलाई कवि मात्र हैन, हाम्रो स्काउट परिवारको आफ्नै सदस्य हुनुहुन्छ भन्ने अनुभूती भयो । अनि सबैले एकैपटक गोडा मिलाएर, छाती फुलाएर ३ औलाको स्काउट प्रणाम गर्यौँ ।

त्यसपछि उहाँले हाम्रो अनुरोधलाई स्विकार्दै आफ्नो अनुभव सुनाउँन थाल्नु भयो । “एउटा सुचना निस्कियो । स्काउटको आधारभूत शिक्षाको तालिम हुँदैछ । त्यो तालिम लिएपछि महिनाको ३५ रुपयाँ तलव हुने छ । इच्छा भएको व्यक्तिले दरखास्त दिन सकिनेछ’ । त्यहिबेला मेरी जेठी श्रीमती गौरीको स्वर्गबास भएको थियो । म एक्लो भएको थिए ।

उनी छँदादेखि नै म गोरखापत्रमा काम गर्थे । त्यहाँ महिनाको ४० रुपयाँ पाउँथे । म पहाडमा जन्मिएको मान्छे । त्यसै काठमाडौँसँग एक किसिमको विरक्ती थियो । अझ गौरी पनि नभएपछि त्यसमा विरह पनि थपियो । काठमाडौँमा बसेर ४० रुपैयाँ कमाउनु भन्दा आफ्नै गाउँमा गएर ३५ रुपैयाँ महिनाको पाउने भए त्यो राम्रो भन्ने सोचे ।सम्झनामा राष्ट्रकवी माधव प्रसाद घिमिरे 4उ बेलाको रुपैयाँको मूल्य धेरै माथि थियो । मैले दरखास्त दिएँ । पछि तालिम लिन मलाई बोलाए । तालिम जेठमा हुँदैछ भने । अनि मैले गएर तालिम लिएँ । त्यो तालिममा म दोस्रो भएँ । त्यसपछि लम्जुङ्गमा गएर स्कुल खोल्नको निम्ति म त्यहाँबाट खटिएँ ।

लम्जुङ्गको अलिक उत्तरी भेगमा पर्ने पुस्तुन भन्ने ठाउँमा खटिएको थिएँ, तर मैले स्कुल चै लम्जुङ्गको जुन केन्द्र थियो, लमजुङ्गे राजाले बनाएको दरवार, त्यही ठाउँमा गएर स्कुल खोलेँ । ४ वर्षसम्म त्यहाँ पढाउने काम गरे । त्यसपछि फर्किएर आएँ । यहाँ आधारभूत शिक्षाले अलिक अर्को रुप लिएको थियो । त्यो चै टिचर ट्रेनिंग सेन्टर भनेको थियो ।

शिक्षण शिक्षक तालिममा म भर्ना भए । त्यसबेला मेरो तलब बढेर पहाडमा ६० रुपैयाँ पुगेको थियो । यहाँ चै १ सय ७० रुपैयाँ पाउने भएँ । उबेलाको हिसावले यो धेरै राम्रो थियो । ट्रेनिङ सेन्टरमा तालिम लिन आउनेका लागि छात्राबास थियो ।
त्यो छात्राबासमा मलाई सुपरिटेण्डेन्ट बनाइयो । मैले त्यहाँको प्रशासन हेरेँ । करिब २ बर्ष हेरेँ । त्यो तालिम सकिएपछि त्यो शिक्षण केन्द्र चै कलेज अफ एजुकेशनमा परिणत भयो । त्यो कलेज अफ एजुकेशनमा म नेपालीको प्रशिक्षक भएँ ।

त्यो बेलामा नेपालका नाम चलेका केही विद्यार्थीहरु पनि त्यहाँ तालिम लिन आएका थिए । जस्तै, आजभोलि पनि उनीहरुको नाम प्रसिद्ध छ । रमेश विकल, दौलत बिक्रम विष्ट यस्ता यस्ता उनीहरु मेरा त्यो बेलाका चेला थिए ।

अरुहरु पनि तालिम लिन आएका थिए । धेरै चेलाहरु थिए । गुरु र शिष्यको भावना त्यहाँ धेरै राम्रो थियो । ज्यादै घुलमिल हुने र उनीहरुले मलाई जहाँ देखे पनि अहिलेसम्म बडो आदर सम्मान गर्थे । त्यहाँ राम्रो किसिमले दिनचार्य बित्दै थियो । त्यसपछि १४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भयो । त्यसमा म सदस्य चुनिएर गए ।सम्झनामा राष्ट्रकवी माधव प्रसाद घिमिरे 5

मेरो जीवनमा सबै भन्दा महत्वपूर्ण काल हो मैले स्काउट तालिम लिएको समय । जब गोरखापत्रको जागिर छाडेर त्यो तालिम लिएँ, मेरो जीवनमा पूरै परिवर्तन आयो । अहिले मैले भन्न खोजेको पनि त्यही बिषय हो ।

धेरै कुरा त बिर्सिए पनि । त्यो समय मेरो ३ खण्डको थियो । पहिलो स्काउटको आधारभूत तालिम लिएको खण्ड । दोस्रो खण्ड चै तालिम लिएर लम्जुङ्गमा स्कुल स्थापना र तेस्रो कलेज अफ एजुकेशन जहाँ मैले नेपालका प्रसिद्ध साहित्यकारहरुलाई पढाएको थिएँ ।

त्यो तालिमले मेरो जीवन र ज्ञानको दायरामा कायापलट गर्यो । मेरो पढाई संस्कृत शिक्षा मात्र थियो । भूगोल के हो ? इतिहास के हो ? नागरिक शास्त्र के हो ? अर्थ शास्त्र के हो ? यो सबैको पढाई संस्कृत शिक्षामा हुदैन थियो । यद्यपि संस्कृतमा उच्च साहित्य र उच्च दर्शनहरुको पढाई थियो ।

त्यो कम थियो वा नराम्रो थियो भन्ने कुरा हैन तर अहिलेको समयमा प्रजातान्त्रिक युगमा चाहिने चिज भने कै त्यहि हो । मैले त्यो बेलामा स्काउट तालिम लिँदा थाहा पाएँ । त्यो तालिममा गुरुहरुले नागरिक शास्त्रको जुन आधारभूत ज्ञान चखाई दिनुभयो, त्यसको भरपुर स्वाद हिन्दी भाषामा पाइने पुस्तक पढेर लिएँ ।

त्यसबेला त्यस्ता विषयका नेपाली पुस्तकहरु पाइदैन थियो । अनि पछि अर्थशास्त्र पनि पढेँ तर, सबै भन्दा बढी नागरिक शास्त्र नै अध्ययन गरेँ । यो प्रजातन्त्रको प्रार्दुभावमा काम लाग्ने पनि थियो ।

दर्शनमा त मेरो नाम हुँदो हो । कवितामा अथवा साहित्यमा हुँदो हो तर, त्यो जो व्यवहारिक कुरा थियो, जुन संक्षेप रुपमा स्काउटमा पढाई दिएको हुनाले अरु चै अध्ययन गर्ने मौका पाएँ । यो मेरो जीवनमा महत्वपूर्ण रह्यो ।

एकतावद्ध एउटा कार्यक्रम, क्रमवद्ध शैक्षिक अभियान, करिव करिव सेना जस्तो तर सेना चै हैन, त्यो नै स्काउट हो । एकदम इमान्दार किसिमको, फुर्तिलो, समयको मूल्य थाहा पाएको, आफू जोगिने र आफ्नो राष्ट्रको मात्र हैन, जुन सुकै राष्ट्रको राष्ट्रियता, राष्ट्रिय झण्डा र राष्ट्र प्रमुखको सम्मान गर्ने ।

कसैसँग वैरभाव नराख्ने । सबैलाई सम्मानको दृष्टिकोण राख्ने । यस्तो यस्तो स्वभाव स्काउटको हुन्छ । स्काउटको तालिम विश्व बन्धुत्वको लागि नयाँ संसार बनाउन एकदमै काम लाग्ने तालिम हो ।

अहिलेको सन्दर्भमा तपाईहरुले कुन अर्थमा लिनुपर्छ भने हाम्रो बहु जाती, बहु भाषा र बहु संस्कृति भएको नेपालमा जो अहिले लोकतन्त्रको स्थापना भएको छ, त्यसको मुलभूत सिद्धान्त सबैलाई समान अवसर दिने हो । त्यो चेत स्काउटमा छ ।

स्काउटमा एउटै भान्सा गरेर सबै जातजातिले एकै ठाउँमा खाए जस्तै सबैले गर्ने हो भने राष्ट्रमा समानता आउँछ । त्यसैले पनि स्काउट आवश्यक छ । स्काउटले जुन तालिम लिएको हुन्छ, दिक्षा लिएको हुन्छ त्यसलाई आफ्नो जीवनमा लागू गर्न सक्यो भने व्यक्तिको जीवनमा त सकारात्मक परिवर्तन आउछ नै, देशलाई पनि लाभ पुग्छ ।

अर्को कुरा के छ भने यो तालिम लिएपछि व्यक्ति नेपालको मात्र हैन विश्वको नागरिक हुन्छ । स्काउटको विश्व बन्धुत्वको भावले यहि भन्छ । अरु सामान्य मानिस भन्दा स्काउट फरक हुन्छ । मान्छे जति नै ठूलो भएपनि स्काउटको तालिम लिएको छैन भने अलिकति केही खड्किन्छ ।

स्काउटले जुनसुकै देशको झण्डालाई, राष्ट्रिय गानालाई र राष्ट्र प्रमुखलाई कसरी सम्मान गर्नुपर्छ जानेको हुन्छ । राष्ट्रियगान बज्दा कसरी बस्नु पर्छ भन्ने कुरा कतिपयलाई थाहा हुन्दैन तर हरेक स्काउटलाई थाहा हुन्छ ।

त्यसैले स्काउट अनुशासित हुन्छ । अनुकरणीय हुन्छ । स्काउटले पनि स्काउटको ३ वटा नियम कहिले पनि भुल्नु हुदैन । लोकतन्त्रलाई लोपतन्त्र हुन नदिन स्काउट जस्तो संस्थाको महत्वपूर्ण भूमिका हुन्छ । मैले तालिम लिएर जुन फाइदा लिए, त्यस्तै फाइदा हरेकले लिन सक्छन् भन्ने मलाई लाग्छ ।“

यति भन्दै उहाँ लामो सास लिएर केही समय चुपचाप हुनुभयो । अनि फेरि तालिम लिँदाको सानो अनुभव सुनाउन थाल्नु भयो, “ताहाचलबाट क्रमवद्ध भएर आउदा खेरि म सबैभन्दा पछाडिको लहरमा थिए । नारायणहिटी दरबारको एकतला माथिको कार्यक्रम स्थलमा पुग्दा ‘पूरा घुम’ भन्ने आदेश भयो । फनक्क घुमेर जहाँ हेर्छु त, राजा त्रिभुवन ठ्याक्कै अगाडि म परेछु ।“

सबै जनाको गलल हाँसोले घिमिरे निवासको बैठक कोठा गुञ्जायमान भयो । त्यो दिन धेरै बेर स्काउटर माधवप्रसाद घिमिरेका पुराना कुराहरु सुनिरह्यौँ । दिन असाध्यै फलदायी रह्यो । साहित्यको शिखर व्यत्तित्व राष्ट्रकविसँगको यो स्काउटिङ्ग भेटघाट र भलाकुसारी अविष्मरणीय बनेको छ ।

स्काउटको सुन्दर बगैचामा राजनीतिको कालो दाग देखिएको त्यो बिषम परिस्थितिमा उहाँ जस्ता महामानवसँगको भेट्घाटले नयाँ उर्जा प्राप्त भएको थियो । यस्ता व्यक्तित्वको मलजलले बढेको स्काउटका किराहरुलाई तह लगाएरै छोड्ने नयाँ शक्ति भरिएको थियो । जुन आज पनि छ । हार्दिक श्रद्धाञ्जली स्काउटर माधव घिमिरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्