कविता:कतै फाटेको, कतै टालेको कोभिड समाज

0
272

डा.भोजराज अधिकारी
भरतपुर्-१०,चितवन 

सबै ठिकठाक थियो, कसैको जन्म भयो,
न्वारन भयो कोभिड रह्यो नाम।।

महिनामै चमत्कार, वस्ती उजाड,
साबुन–पानी, स्यानिटाइजर र
मास्क बने जीवन जिउने उपनाम।।

शक्ति, दम्भ, विज्ञान, विकास कस्तो थियो नाज,
पलभरमा टुट्यो फुट्यो।
कतै फाटेको कतै टालेको निर्माण भयो कोभिड समाज।।

कोही भन्छन्– गुर्जो, बेसार–पानी,
कोही प्लाज्मा र रेमडिसिभिरमै कलह।।
भन्दा सामाजिक दूरी, खानपान र बथानमा चल्ने,
चिउँडोमा मास्कको पखेँटा भएका मानव सलह।।

विद्वानलाई सिल्ली, काम गर्नेलाई खिल्ली,
फेसबुकमा उपदेशको बाढी छ।।
युट्युब र टिकटक भ्युजको होडबाजीमा
कोरोनाको नाममा दिग्भ्रमित गर्नेलाई ‘लाइक‘ को ताली छ।।
भन्दा मन्दिर खाली छ,
भगवान सेतो कोट लगाएर अस्पतालमा व्यस्त छ।।
तिनै भगवानका घरमा कोरोनको स्टिकर टाँस्न र
होस्टेल खाली गर्न त्यही समाज मस्त छ।।

के भनुँ, कसैलाई साख बचाउनु छ,
कसैलाई लकडाउनमा झुटको खेती गरेर भात पचाउनु छ,
पोखरीको डिलमा बसी माछाले पौडेको मिलेन भनी,
फेसबुकमा छाउने कागजी बाघ बढे।।
म पनि त कतै फाटेको, कतै टालेको त्यही समाजको
पीडित डाक्टर न परें।।

ठूलो माछाले साना माछालाई खान फेरि भयो सुरु,
हाम्रै भित्र कर्मक्षेत्र, कर्मक्षेत्र भित्रै कोही चेला, कोही स्वघोषित गुरु।।

आधी वर्ष बित्यो सुन्दै क्वारेन्टाइन र आइसोलेसन,
पोजेटिभ र नेगेटिभ धुव्रमा बाँडिएको विभेदी फेसन।।
भ्रष्टहरुलाई गाह्रो भो, किनकी पैसा कागज हुने बेला भो,
मोलतोलको दुनियाँमा सत्तरी रुपैयाँ ठूलो कि, सत्तरी करोड
हिसाब-किताब बुझ्न गाह्रो भो।।

किनकी, भनेको नगर्ने, गरेको नदेख्ने, भाँड्नेको बिक्ने,
भगवानको इज्जत लुट्ने, अच्चमको कहर भो।।
कतै फाटेको कतै टालेको मेरो कोभिड समाज भो।
मेरो कोभिड समाज भो।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here