अब हाम्रो कीबोर्डमा बोलेकै भरमा नेपाली टाइप हुने फिचर, यसरी गर्नुहोस् प्रयोग

0
220

काठमाडौं । ‘हाम्रो पात्रो’ले बोलेरै टाइप गर्न सकिने गरी ‘हाम्राे नेपाली कीबोर्ड’ एपको नयाँ संस्करण सार्वजनिक गरेको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा टाइप गर्न सकिने कीबोर्डलाई थप परिमार्जन गरी नयाँ सुविधा थप गरिएकाे हो ।

नयाँ संस्करणमा आएको नयाँ फिचरले प्रयोगकर्ताले बोलेको नेपाली शब्दलाई (भ्वाइस टाइपिङ) नेपाली अक्षरमा टाइप गरिदिनेछ । यो खालको सुविधा उपलब्ध गराउने नेपाली एपमध्ये यो नै पहिलो बनेको छ ।

नयाँ फिचर प्रयोगका लागि प्रयोगकर्ताले हाम्रो नेपाली कीबोर्डको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ । त्यसका लागि गूगल प्लेस्टोर र एप्पलको एप स्टोरमा गएर अपडेट अथवा डाउनलोड गर्न सकिने छ ।

नयाँ अपडेटसँगै तपाईंले बोलेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्टाटस, प्रतिक्रिया, ट्वीट, च्याट आदि गर्न सक्नुहुनेछ ।कम्पनीका अनुसार भ्वाइस टाइपिङको सहयोगमा बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लेटफर्ममा नेपालीमा लेखिदिनेछ। यसले नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्तालाई सहज हुने अपेक्षा कम्पनीको छ ।

यसमा शुद्ध नेपाली शब्दको विकल्प समेत देखिनेछ, जसले गर्दा तपाईंले टाइप गर्दा त्यस्ता शब्द छनोट गर्न सक्नुहुनेछ ।

त्यतिमात्रै नभएर नयाँ संस्करणमा कीबोर्डको आकार बढाउन सकिने सुविधा पनि थपिएको छ । टाइपिङमा आवश्यकताअनुसार सजिलोको लागि कीबोर्डको आकार बढाउने सुविधा थप गरिएको कम्पनीले जनाएको छ ।मोबाइल अनुसार टाइपिङ गति तथा औंलाको आवश्यकता अनुसार कीबोर्डको आकार चाहेजस्तो सानो वा ठूलो बनाउन सकिने सुविधा यसमा समेटिएको छ । यसले प्रयोगकर्तालाई टाइप गर्न सहज हुने अपेक्षा गरिएको छ ।

एपमा नेपाली भाषा चयन गरिसकेपछि ‘ञ’ अक्षरको ठीक माथिपट्टी भ्वाइस टाइपिङका लागि माइकको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा क्लिक गरी तपाईंले बोलेको कुरा नेपालीमा टाइप गर्न सक्नुहुनेछ ।

त्यसो त गूगलको जीबोर्डमा समेत तपाईंले यस किसिमको सुविधा देख्न सक्नुहुनेछ । तर यसमा तपाईंले बोलेको कुरा प्रस्ट नभएमा संभावित विभिन्न शब्दावली सुझाइएको हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here