नेकपा स्थायी कमिटी बैठकमा सीमा विवाद विषयमा केन्द्रित छलफल यथावत ,आगामी बैठक १६ गते बस्ने

0
132

काठमाडौं, असार १३–

सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा भारतद्वारा अतिक्रमित सीमा विवादकै विषयमा केन्द्रित भएको छ।

बुधबारदेखि सुरु भएको बैठकमा शनिबार पनि नेताहरुले भारतबाट अतिक्रमित नेपाली भूमिमा व्यावहारिक रुपमा नेपालको बनाउन औपचारिक रुपमा भारतसँग कूटनीतिक वार्ता गर्नुपर्नेमा जोड दिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए।

नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचीमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेका थिए।

राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भीर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकमा २१ जना नेताहरुले आआफ्ना धारणा राखेका थिए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सुरुमा उपस्थित भएर केहीबेरमै निस्किएका थिए।

आइतबार मदन भण्डारी जयन्ती भएको हुँदा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र सोमबार असार १५ भएकाले बैठक १६ गते बालुवाटारमै बस्ने जानकारी प्रवक्ता श्रेष्ठले दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here