नागरिकता विधेयक : वैवाहिक अंगीकृतको विवाद सुल्झेन, सहमति जुटाउन ५ दिनको समय

0
75

काठमाडौं, असार ३-

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको विषयमा दलहरूबीच देखिएको विवाद अझै मिलेको छैन ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भए पनि कांग्रेसले त्यसमा विमति राखेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरे पनि कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसले संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको प्रावधानलाई नै मानेर जानुपर्ने र त्यही अनुसार ऐन आउनुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।

कांग्रेसको उक्त अडानसँगै बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै समय मागेका थिए ।

गृहमन्त्रीले समय माग गरेपछि नागरिकता विधेयकको छलफल पुन: लम्बिएको छ।

समिति सभापति शशि श्रेष्ठले सहमति कसरी जुट्छ? भनेर प्रश्न उठाएकी थिइन्। जवाफमा समितिमा रहेका नेकपा सांसद जनार्दन शर्माले राजनीतिक सहमतिको विकल्प नरहेको बताएका थिए।

कांग्रेस सांसद दिलेन्द्र बडुले पनि नागरिकताको विषयमा उच्च राजनीतिक नेतृत्वबीच सहमति आवश्यक रहेको बताए।

‘यो अधिवेशनबाट विधेयक पास गर्नुपर्छ’, समितिको छलफलपछि श्रेष्ठले भनिन्, ‘सरकारले पाँच दिनभित्र यो विषयमा सहमति जुटाओस्।’

सहमतिको नाममा दुई वर्षयता नागरिकता विधेयक प्रतिनिधि सभामा अड्किएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here