भोलि देखि पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने सरकारको निर्णय

0
150

काठमाडौं, जेठ २८–

सरकारले भोलि देखि पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।

मन्त्रिहरुको सुझावलाई समेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान अन्तिम रुप दिएपछि दिउँसो ३ बजे पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामार्फत विस्तृतमा सार्बजनिक गरेर जानकारी दिइने एक मन्त्रीले बताए ।

उनका अनुसार बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागू गरिने छ ।

बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो ।

‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ,’ उनले भने ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।

जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटीका विषयमा बिहीबार मात्रै विस्तृत रुपमा सार्वजनिक गरिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here