अभिनेत्री मनिषा कोइराला काठमाडौं स्थित होटलको क्वारेन्टाइनमा

0
540

काठमाडौं, जेठ २३–

अभिनेत्री मनिषा कोइराला काठमाडौंको एक होटलमा १४ दिने क्वारेन्टाइनमा बसेकी छिन् । उनी बसेको होटलको थप विवरण खुलाइएको छैन । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टाइनमा बसेकी थिइन् ।

मनिषा र उनको परिवारलाई नेपाली सेनाले स्कर्टिङ गरेर नाकादेखि काठमाडौंसम्म ल्याएको थियो । मनिषा र उनका मातापिता होटलमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेर घर जानेछन् । मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उनी नेपाल प्रवेश गरेकी थिइन् । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टाइनमा बसेकी थिइन् ।

यसअघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया उनीविरुद्ध खनिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्