भारतीय सीमाबाट आफ्नो वडावासीलाई गाडी चलाएर घर ल्याउने वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि

0
127

काठमाडौं, १६ जेठ-

बाँकेका एक वडाध्यक्षमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय ती वडा अध्यक्षलाई बुधवार संक्रमन पुष्टि भएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार संक्रमित वडाध्यक्षले भारतबाट घर फर्किने मजदुरलाई आफैं गाडी चलाएर सीमासम्म पुगी उद्धार गरेका थिए ।

गत जेठ ७ गते उनले भारतबाट आएका ५६ मध्ये राप्तीपारिका २४ जनालाई अर्कै बसमा पठाएका थिए त्यस्तै आफ्नो वडाका २७ जनालाई आफैं गाडी चलाएर घरसम्म उनैले ल्याएका थिए । ती २७ मध्ये एकजना बिरामी थिए। उनलाई वडाध्यक्ष आफैंले उठाएर गाडीमा हालेर घरसम्म पुर्‍याएका थिए । २० वर्षजतिका ती युवालाई राति ज्वरो आयो। एम्बुलेन्स बोलाएर राति नै नेपालगन्जको भेरी अस्पताल पुर्‍याइएका ती युवालाई अर्को दिन कोरोना पुष्टि भयो।

आफैंले उठाएका व्यक्तिमा कोरोना पुष्टि भएपछि वडाध्यक्ष झस्किए। जेठ ११ गते आफूसहित छिमेकी वडाध्यक्षको समेत स्वाब संकलन गर्न लगाए। भेरी अस्पतालमा गरिएको परीक्षणमा छिमेकी वडाध्यक्षको रिपोर्ट नेगेटिभ आए पनि उनलाई कोरोना संक्रमण देखियो।

‘मैले पुरै सावधानी अपनाएको थिएँ। मास्क, ग्लोभ्स लगाएर गाडी चलाउँथें,’ संक्रमित वडाध्यक्षले भने ‘घरमा पुग्नासाथ नुहाउँथें र कपडा बदल्थें, तैपनि मलाई कोरोना पोजेटिभ देखियो।’

उनले आफूसहित अन्य संक्रमित वडाले नै निर्माण गरेको आइसोलेनसमा बसेको र सबैको अवस्था सामान्य रहेको जानकारी दिए।

उनले आफू बसेको आइसोलेन व्यवस्थित रहेकाले कुनै समस्या नरहेको बताए।

‘म अवश्य कोरोना भाइरसलाई जितेर फेरि जनताको सेवामा लाग्ने छु,’ उनले भने ‘जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दागर्दै ढलिएछ भने पनि पीर छैन।’

उनले आफ्नो सामाजिक सञ्जालमा पनि त्यही कुरा लेखेका छन्- पिर त मेरा जनताको स्वास्थ्यको छ। भगवानसँग प्रार्थना गर्छु कसैलाई पनि केही नहोस्।

उनले जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो ज्यान जोखिममा राखेर सक्दो प्रयास गरेको उल्लेख गरेका छन्। संक्रमित वडाध्यक्ष लकडाउन सुरू भएपछि गाउँ-गाउँमा पुगेर चेतनामूलक प्रचारप्रसार गर्थे। विपन्नलाई राहतदेखि भारतका सीमामा अलपत्र परेकाको उद्धारमा खटेका थिए। वडाले भाडामा लिएको गाडी चलाएर उनी सर्वसाधारणलाई  नाकादेखि घरसम्म पुर्‍याउँथे।

हाल अध्यक्ष थारू सहित केही जनप्रतिनिधि र कर्मचारी वडानम्बर ३ स्थित गाउँपालिकाकै सेल्टर हाउसमा बसेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here