कविता:कालापानी दुःखेको बेला

0
867

केशव राज बस्ताकोटी(तारकेश्वर २, काठमाण्डौ)कविता:कालापानी दुःखेको बेला 1

लकडाउन नै तोडेर अव, देशको झण्डा बोँकु लाग्छ ।
बिरताको मसाल बोकी , कालापानी कुँदौ लाग्छ ।।
सधै हेपाई सहनु भन्दा , गोली छातीमा थाप्नु बेस ।
नश्वर यौटा शरिर आहुतिले, जोगिन्छ भने प्यारो देश ।।

सहनुको पराकाष्ठा यो भन्दा अरु के होला र ?
मातृभुमीले बली मागे रगत कसले नदेला र?
दिनदहाडै मातृभुमीको , छातीमा डोजर चलेपछि ।
सधियार शत्रुले आज फेरी, घाँऊमा नुनचुक छरेपछि ।।

कैले सुस्ता दुःखेको छ, दुःख्छ कैले कालापानी ।
लियो भुगोल जबरजस्ती , या बुझाए जानीजानी ।।
चिमोटदा नि नदुःखे जस्तै , मस्त शासक निदाउछ ।
हेर्दै जाऊ यो गतिले , अस्तित्व देशको मेटाउछ ।।

महामारी कोरोनाले ,सित्तैमा मर्नु भन्दा बरु ।
कालापानीमा लडेर , हाँसी हाँसी मर्नु बेस।।
भेन्टीलेटरमा निसास्सिएर ,प्राण पखेरु जानु भन्दा ।
सलामी देशको खाएर , स्वाभीमान मृत्यू बेस।।

पटक पटक देशभक्त छातीमा , लात छिमेकीले हानेपछि।
एकपटक वार की पार , लडेर फैसला गर्नु बेस ।।
पटक पटक आग्रहको , पत्र च्याँतेर दुःखाए पछि ।
सवक राम्रै सिकाउन , सुतेको छिमेकी झस्काउनु बेस।।

कैले कुलो छेकीदिन्छ , निभाइदिन्छ कैले चुल्हो ।
नाकाबन्दीको अस्त्र उस्को ,युद्ध सशस्त्र भन्दा ठुलो ।।
लौन सरकार अव हामीलाई,यौटा प्रश्नको जवाफ चाहियो।
हेपेकै हो की छिमेकीले , हाम्रो कुटनिती निमछरो हो ?

जागेनौँ भने यस्तो बेला, पहिचान हाम्रो मेटिएला ।
नेपाल र नेपाली भन्ने कतै ,मात्रै इतिहासमा भेटिएला।।

तपाइको प्रतिक्रिया दिनुहोस्