किट आएसँगै दैनिक एक हजार जनाको कोरोना परीक्षण

0
118

काठमाडौं, वैशाख २८–

स्वीस सरकारले दिएको ३० हजार थान पिसिआर किट आएसँगै दैनिक एक हजार जनाको कोरोना परीक्षण हुन थालेको छ।

पछिल्लो दुई दिनमा मात्र १८ सय जनाको कोरोना परीक्षण भएको छ। किट आएसँगै परीक्षणको दायरा बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि किट अभावका कारण दैनिक ३ सय जनाको परीक्षण हुँदै आएको थियो। मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले परीक्षणलाई अझ बढाउने तयारी रहेको बताए।

‘हाम्रो प्रयोगशालाको दैनिक क्षमता ३ हजार वटा नमूना परीक्षण गर्ने हो। अझ परीक्षणको दायरा बढ्छ’ उनले भने, ‘संक्रमणको अवस्था हेरेर परीक्षणको संख्या कति पुर्याउने भन्ने टुंगो गर्दै जान्छौं।’

वीरगन्ज, नेपालगन्ज र उदयपुरजस्ता ‘हटस्पट’ ठाउँहरूमा परीक्षण थप बढाउने मन्त्रालयको तयारी छ। शनिबार मात्र उदयपुरको भुल्केमा थप चार जना महिलामा संक्रमण देखिएपछि थप ३ सय जनाको परीक्षण गर्ने तयारी गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदी भन्छन्, ‘हिजो संक्रमित थपिएपछि जोखिम बढेको छ। भोलि थप ३ सय जनाको नमूना संकलन गरेर काठमाडौं पठाउँछौं।’ यी तीन ठाउँबाहेक कपिलवस्तुमा पनि संक्रमणको जोखिम औंल्याइएको छ।

शनिबार एकैदिन ८ जना कोरोना संक्रमित थपिएकामा तीन जना कपिलवस्तुका छन्। सरकारले कोरोना परीक्षणमा ‘पुल टेस्टिङ’ को विधि अपनाउने निर्णय गरेसँगै अब सिमित किटबाट पनि धेरै परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयको विश्वास छ।

‘सोझै हिसाब गर्दा पनि १० हजार किटले हामी एक लाख जनाको परीक्षण गर्न सक्छौं’ सहप्रवक्ता अधिकारीले भने, ‘यसले पनि परीक्षण सोझै बढ्ने देखाउँछ।’ पुल टेस्टिङबाट एउटा किटबाट १० वटा नमूनाको परीक्षण गर्न मिल्छ।

यो विधिमा १० वटा नमूनालाई एउटै भाडोमा मिसाएर परीक्षण गरिन्छ। यसो गर्दा जम्मा एउटा किटको खर्च हुन्छ। पुल टेस्टिङबाट कसरी परीक्षण अघि बढाउने भन्ने जिम्मा मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिएको छ।

प्रयोगशालाले यो विधिबाट क्वारेन्टाइनमा भएका र लक्षण नदेखिएकाहरूमा परीक्षण हुने जनाएको छ। विज्ञहरूले समेत यो विधिबाट लक्षणविहीन र कम जोखिम भएका क्षेत्रहरूमा मात्र परीक्षण गर्न प्रभावकारी हुने बताएका छन्।

१० वटै नमूनालाई एकैठाउँ मिसाउदा पातलो हुने र त्यसको सेन्सिटिभिटी कम हुने उनीहरूको तर्क छ। यो टेस्टिङबाट नेगेटिभ नतिजा आयो भने १० वटै नमूना नेगेटिभ हो भन्ने हुन्छ।

तर पोजेटिभ नतिजा आए फेरी १० वटै नमूनालाई एकएक गरी परीक्षण गर्नुपर्छ। यसो गर्दा कुन नमूना पोजेटिभ हो भन्ने थाहा हुन्छ। पछिल्लो समय किट अभाव भएर परीक्षणमै असर पर्न थालेपछि विज्ञहरूले पुल टेस्टिङ विधिबाट परीक्षण अघि बढाउन सुझाएका थिए।

थप परीक्षणका लागि किट लगायत स्वास्थ्य सामग्री ल्याउने जिम्मा पाएको नेपाली सेनाले अहिलेसम्म सामग्री ल्याउन सकेको छैन।

जसले गर्दा गएको साता कोरोना परीक्षणमै प्रत्यक्ष असर गरेको थियो। किट अभावकै कारण झन्डै एक साता पाँच वटा प्रयोगशालामा परीक्षणको काम रोकिएको थियो। अहिले भने ती प्रयोगशालाहरूमा पनि परीक्षण पुनः सुचारू भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here