भरतपुर कोरोना अस्पताल अनियमितता प्रकरणः ११ लाखको जुत्ता खरिद

0
115

चितवन, वैशाख २४–

पछिल्लो समय विवादमा तानिएको भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालको एकपछि अर्को रहस्य खुल्दै गएको छ।

चोरी र अनियमितताको विषयमा विवादमा तानिएको कोरोना अस्पतालमा ११ लाख रुपैयाँको जुत्ता (बुट), चप्पल खरिद गरिएको विवरण सार्वजानिक भएको छ । कोरोना अस्पतालबाट भरतपुर अस्पतालमा बुझाइएको सामानको विवरणमा खरिद गरिएको भनिएको छ तर सामानको विवरण उल्लेख छैन । वाग्मती प्रदेश सरकारको सशर्त अनुदानमा प्राप्त एक करोड र भरतपुर महानगरपालिकाको ६ लाख ५० हजार गरी १ करोड ६ लाख ५० हजार रुपैयाँ अस्पतालमा खर्च भएको आर्थिक विवरणमा उल्लेख छ ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलमार्फत सार्वजानिक गरिएको विवरणमा कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अन्तर्गत ११ लाख ८६ हजार ८ सय २३ रुपैयाँ बराबरको जुत्ता (बुट),चप्पल, बाटा, बाल्टीन र स्टेशनरी सामान खरिद गरिएको देखिएको छ ।

सो विवरणमा १४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट शिलिङ राखिएको कार्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकबाट यो रकम विभिन्न सप्लायर्सलाई भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

कोरोना अस्पतालबाट भरतपुर अस्पतालले सामाग्री बुझेको विवरणमा यो शीर्षक अन्तर्गत २८ वटा प्लाष्टिकका बाटा, २० वटा प्लाष्टिकका बाल्टी र ७ वटा जग किनेको विवरण छ ।

५० जोर चप्पल बुझेको विवरण छ तर,जुत्ता (बुट) खरिद गरिएको विवरण कहीँ कतै भेटिएको छैन । अस्पतालले दिएको विवरणअनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । करेन्टीन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक बापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अस्पतालले पीपीई र एन ९५ मास्कमा मात्रै भ्याटसहित करिब ३४ लाख खर्च गरेको देखाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here