अहिले विश्वका सबै देश आफ्ना नागरिकहरुलाई कसरी यो महामारीबाट जोगाउने र कमभन्दा कम क्षति बनाउन तर्फ लाग्ने भनेर योजनाहरु बनाईरहेका छन्। विश्वका अधिकांश देशहरु लकडाउनको अवस्थामा छन्। अधिकांश शक्तिशाली राष्ट्रहरुहरुमा आर्थिक गतिविधि ठप्प प्रायः छ। यस अवस्थामा विश्वको जनसंख्याको दुईतिहाईभन्दा बढी मानिसहरु घर भित्र छन्।नेपालमा पनि कोभिड-१९ को प्रकोप निणन्त्रण तथा रोकथाम गर्न सरकारले अघिल्लो वर्षको चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको हो जुन यो लेख तयार पार्दाको बखतसम्म जारी छ।
यो लेख्दासम्म नेपालमा ५९ जना संक्रमितहरु भेटिएका छन् र ती मध्ये १६ जना निको भएर घर फर्किएका छन्। विश्वमा ३४ लाख २२ हजार २ सय ९१ मानिसहरु संक्रमित छन् भने ती मध्ये २ लाख ४० हजार ३ सय ३४ जनाको मृत्यु भईसकेको छ।
संक्रमितहरु मध्ये १० लाख ९३ हजार १ सय १५ जना निको भएका छन्। यो तथ्यांक हेर्दा लाग्छ, महामारी तत्काल रोकिनेवाला छैन र यसले धेरै समय विश्वलाई आक्रान्त पार्ने निश्चित छ।
यस्तो बेलामा संचार माध्ययमको भूमिका निकै महत्वपूर्ण मानिन्छ। संचारकर्मीहरको भूमिका यो बेलामा महत्वपूर्ण हुन्छ। उनीहरुले गर्ने हरेक क्रियाकलाप यो बेलामा निकै महत्वपूर्ण हुन्छ।
यो लेखमा पंक्तिकारले नेपालको सन्दर्भमा यस महामारीका बेला रेडियो स्टेशनहरुको भूमिका कस्तो हुनुपर्दछ र यस्तो बेलामा उनीहरुलाई आईपर्न सक्ने चुनौती, त्यसलाई समाधान गर्दै कसरी रेडियो प्रसारणलाई यस्ता महामारीका बेलामा उपयोगी बनाउन सकिन्छ भन्ने बिषयमा चर्चा गरिएको छ।
नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको हो। आजको मितिमा पनि संचारका माध्ययमहरु मध्ये रेडियो स्टेशनहरुनै सबैभन्दा बढी लोकप्रिय छन् र रेडियो सबैको पहुँचमा पनि छ।
रेडियोमा नागरिकहरुको सहज पहुँच भएका कारणनै रेडियो प्रतिको विश्वास पनि नागरिकहरुमा उतिकै छ। त्यसकारण यस्तो महामारीका बेलामा रेडियो स्टेशनहरुको भूमिका निकै प्रभावकारी मानिन्छ।
नेपालमा कोरोना प्रकोप सुरु भएर लकडाउन सुरु भएपछि जुन तवरले ठाउँ-ठाउँमा रहेका जनताको सहज पहुँच भएका रेडियो स्टेशनहरुले भूमिका खेल्नु पर्दथ्यो, त्यस्तो पाइएको छैन। यहाँ सबैलाई त्यसो भन्न खोजिएको होइन। केही रेडियो स्टेशनहरुले अत्यन्तै राम्रा उदाहरणीय काम गरेको उदाहरण पनि छन्।
उनीहरुले नागरिकहरुलाई सचेतना गराउने, सचेतनामुलक रेडियो कार्यक्रमहरु संचालन गर्ने, स्थानीय तहलाई निरन्तर खबरदारी गर्ने काम पनि गरेका छन्। यो प्रशंसनीय छ। तर अधिकांश रेडियो स्टेशन भने यस्तो बेलामा मात्रै कर्मकाण्डी बनेका छन्। केन्द्रीय नेटवर्कबाट प्रसारण भएका समाचार बुलेटिन र कार्यक्रमहरु बजाईदिने अनि आफू हाईसन्च सुत्ने प्रवृति स्थानीय रेडियोहरुमा यो महामारीका दौरान देखिएका छन्।
लाजगालले केही गरेजस्तो देखिए पनि त्यसमा कुनै प्रभाकारिता छैन। यस्तो हुनुमा थुप्रै अप्ठ्यारा र चुनौतीहरु होलान्। त्यसलाई नकार्न सकिदैन तर यस्तै बेलामा नागरिकहरुले स्थानीय रेडियोको अब्बल भूमिका खोजिरहेका हुन्छन्। स्थानीय रुपमा संचालनमा रहेको एफएम स्टेशनहरुबाट उनीहरु आफ्नै गाउँ ठाउँका कुराहरु, आफ्नै गाउँ-ठाउँका मान्छेका कुराहरु सुन्न खोजिरहेका हुन्छन्।
सरकारका मन्त्रीका कुराभन्दा यस्ता बेलामा स्थानीय नागरिकहरुले गाउँकै आफ्नै ठाउँकै रेडियोबाट बजेका शिक्षकका कुरा, स्वास्थ्यकर्मीका कुरा विषेष ध्यान दिएर सुन्छन् र त्यसैलाई पत्याउँछन् पनि, त्यसकारण यो बेलामा स्थानीयरुपमा खुलेका रेडियोहरुको भूमिका महत्वपूर्ण हुन्छ।अहिले यो महामारीका सन्दर्भमा विश्वभरी स्थानीय रुपमा खुलेका रेडियोहरुको भूमिका कस्तो हुनुपर्छ? उनीहरको उत्पादन यो बेला कस्तो हुनुपर्छ? प्रसारणको शैली कस्तो हुनुपर्छ? भन्ने विषयमा व्यापक बहस चलिरहेको छ। तर दुखका साथ भन्नु पर्छ, हाम्रा स्थानीय रेडियो संचालहरु यो कुराहरुबाट बेखबर छन्।
उनीहरु उही पुरानै शैलीमा रमाईरहेका छन्। उही काठमाडौंमा नेटवर्कले तयार पार्दिएको समाचार र कार्यक्रम बजाएर आफ्नो दावित्व र कर्तव्य पूरा गरेको मानिरहेका छन्। तर त्यो आत्मरति मात्र हो। यस्तो बेलामा आफ्ना स्रोताहरुलाई अपनत्व महशुस गराउन नसक्नु भनेको कमजोर हो। बाधा व्यवधान र कठिनाई छ भन्दैमा रेडियो स्टेशनले पूरा गर्ने आफ्नो दावित्वबाट पछि हट्न पाईदैन, हुँदैन।
हाम्रो देशमा सामुदायिक र व्यवसायिक भनेर रेडियोलाई दुई प्रकारले हेर्ने गरिन्छ। ती सामुदायिक भनिने र व्यवसायिक भनिने सबै रेडियो स्टेशनहरुको छाता संस्था पनि छ। सामुदायिक रेडियोहरुका लागि अकोराब र व्यवसायिक रेडियोहरुका लागि वान। तर रेडियोको प्रकार जे भएपनि यो बेलामा सबैले समुदायकै लागि काम गर्ने हो। व्यवसायिक रेडियोले म व्यवसायिक हुँ, त्यसकारण जोखिम मोल्दिन बन्द गरेर बस्छु भन्न पाउँदैन, मिल्दैन।
यस कारण, यस्तो बेलामा रेडियो स्टेशनहरु जति संवेदनशिल भएर काम गर्नु पर्ने हो, त्यो देखिएको छैन। कतिपय अवस्थामा सिधा काठमाडौँमा तयार भएका नेटवर्क बजाउने, बाँकी आफू तातो भुत्लो केही नगरी बस्ने रेडियो स्टेशन पनि भेटिएका छन्।
यो लेख लेख्नु पुर्व मैले करिब एक दर्जन जिल्लाका रेडियो संचालक साथीहरुलाई प्रतिनिधिमूलक रुपमा फोन गरेर सोधेँ। उहाँहरुको ह्या सिँगो देश लागिरहेको छ, हामी मात्र के नै गर्न सक्छौँ र भन्ने आशयको उत्तर आयो। यो भनेको स्थानीय रेडियो स्टेशनहरुका लागि राम्रो संकेत होइन। यसले भोलि रेडियोको लोप्रियतामा ठूलो असर पुर्याउन सक्दछ, त्यस तर्फ चनाखो हुन आवश्यक छ।एउटा उदाहरण भनौँ, साबुन पानीले हात धोऔं, मास्क लाऔं भन्ने कुरा काठमाडौंको कुनै मान्छेले भनेको भन्दा आफ्नै गाउँठाउँको सधैँ देखिरहने मान्छेले रेडियोबाट भन्यो भने त्यो बढी प्रभावकारिता हुन्छ। यो नै हो स्थानीय रेडियोहरको विशेषता। त्यसकारण यो महामारीका बेलामा ह्या भै गो, सकिएन भनेर लत्तो छोडियो भने त्यो प्रत्युत्पादक हुन्छ।
अब प्रश्न उठ्ला, स्रोतसाधन, जनशक्ति, लकडाउन, पारिश्रमिक दिन नसक्ने कुरा यावत्, तर यसो भनेर यो महामारीका बेलामा उम्कन मिल्दैन, पाइदैन। किनभने यस्तो बेलामा जनतालाई निरन्तर साथ दिनु स्थानीय रेडियोको कर्तव्य हो। यो कर्तव्यबाट पछि हट्न मिल्दैन। भएका अप्ठ्यारा र चुनौतीहरुको सामना गरेर भएपनि यो बेलामा रेडियो सामाग्रीहरुको गुणस्तरमा कमी गर्न पाइदैन।अझ यस्तो बेलामा त साविक भन्दा बढी खट्नु पर्छ। यसका लागि सुरक्षाका सबै उपायहरु अबलम्बन गर्नुपर्ने कुरामा विशेष ख्याल पनि दिन आवश्यक छ।
रेडियोहरुका छाता संस्थाहरुको पनि यो बेलामा रेडियो स्टेशनहरुलाई गर्ने सपोर्टमा खासै केही गरेको देखिदैन। महामारीकै कारण प्रसारण गर्न नसक्ने, वा आंशिक प्रसारण गर्न पर्ने वा अन्य समस्याहरु छन् भने त्यसको समाधान गर्न छाता संस्थाले पहल गर्न पर्छ। तर छाता संस्था भएको अनुभव यो बेलामा रेडियो स्टेशनहरुले गरेका छैनन्। यो अर्को दुर्भाग्य हो।
स्थानीय रेडियोको अर्को महत्वपूर्ण पाटो भनेको स्थानीय भाषामा प्रसारण हो। स्थानीय समुदायले बोल्ने भाषामा यो महामारीका बेलामा सन्देशहरु, सूचनाहरु, समाचारहरु, कार्यक्रमहरु दिन सकियो भने त्यो निकै प्रभावकारी हुन्छ। के हामीले यसो गरिरहेका छौं त?
हामीले हो गरिरहेका छौं भनेपनि पत्याउने प्रशस्त आधार छैन किनभने अहिले यो संकटका बेलामा अधिकांश स्थानीय रुपमा खुलेका रेडियो स्टेशनहरु काठमाडौंका नेटवर्कका रिले स्टेशन मात्र भएका छन्। यो सत्य कुरा हो। यस्तो बेलामा हामीले स्थानीय स्तरमा बोल्ने भाषाहरुमा सूचना सन्देशहरु, समाचारहरु प्रसारण गर्न जरुरी छ। यसले स्रोताहरुमा अपनत्व महशुस गराउँदछ र त्यसको प्रभाव उनीहरुमा पर्दछ। यसले बल्ल हामीले गरेको प्रसारणको अर्थ हुन्छ।
हामीले अहिले संकट आयो भन्दै कर्मचारी कटौती गरेर समाचार वुलेटिनहरु घटाउका छौं। तर यसको ठिक विपरित, यस्तो अवस्थामा समचार बुलेटिनको संख्या बढाउन आवश्यक छ। किनकी धेरैभन्दा धेरै जानकारी ती बुलेटिनमार्फत दिन आवश्यक हुन्छ।
यस्तो अवस्थामा अरु विषयवस्तुहरु कम प्राथमिकतामा पर्ने भएकोले कोरोना भाइरससँग समबन्धित रेडियो सामग्रीहरुलाई बढी स्थान दिई प्रमुख प्राथमिकताका साथ प्रशारण गर्न आवश्यक छ। के हामी यो गरिरहेका छौं? रेडियो संचालक, व्यवस्थापक र रेडियोकर्मीहरुले यो बेला गम्भीर भएर सोचौं। यो निकै संवेदनशील बेला हो।
अब कुरा गरौँ रेडियोकर्म गरिरहँदा कसरी सुरक्षीत हुन सकिन्छ त? रेडियोकर्मीहरुको लागि पनि यो माहामारी अरु माहामारी जति सजिलो छैन। सुरुमा आफू जोगिदै अरुलाई सचेत बनाउनु पर्ने बाध्यात्मक परिस्थिति रहेको छ। यस्तो अवस्थामा स्वंयम रेडियोकर्मीहरुले सूचना संकलन र अन्र्तवार्ताहरु सकेसम्म टेलिफोन, इमेल इन्टरनेटबाट नै लिने गरौँ। त्यो सम्भव नभएको अवस्थमा मास्क तथा पन्जा लगाएर तोकिएको दुरीमा बसी सम्बन्धित पक्षसँग सूचना लिने र प्रशारण गर्ने गरौँ।
स्टुडियो भित्रको कम्प्यूटर, ल्यापटप, मिक्सर तथा रेकर्डर सामाग्रीहरु प्रयोग गर्दा पन्जाको प्रयोग गर्ने र सेनिटाइजर साथमै बोकेर हिड्ने गरौँ। यसो गर्न सकियो भने आफूलाई जोगाएर सूचना प्रवाह गर्न सजिलो हुन्छ तर त्रासमा रहेर हुन्न। रेडियो स्टेशन जानै हुन्न, मलाई नि कोरोनाको संक्रमण भईहाल्छ कि भनेर रेडियोकर्मी तर्सने बेला हैन यो। आफू सुरक्षीत रहँदै आफ्नो जिम्मेवारी पूरा गरौँ।
संकटको बेला सही सूचना प्रवाह गरेर नेपालको रेडियोहरुले कयौँ नागरिकको ज्यान तथा स्वास्थ्य जोगाएको ताजा इतिहास हामीमाझ छर्लंग छ। चाहे जनआन्दोनका बेलामा रेडियोहरुले खेलेको भूमिका होस्, चाहे त्यो २०७२ सालको विनाशकारी भूकम्पको बेला सूचना सन्देश प्रवाह गरेर किन नहोस्, नेपाली समुदायको अगाडि हाम्रा रेडियोहरु विश्वासिलो सहयोगी साथी बनेका छन्।
यो पटक पनि रेडियोहरु चुक्न हुँदैन। त्यसकारण गरिरहेका छौं, अझै प्रभावकारी गरौं। गरेका छैनौँ, आजैदेखि लागौँ।
(लेखक रेडियो मध्यविन्दु, कावासोतीका संचालक समिति सदस्य हुन्।)