काठमाडौं,१९ वैशाख-
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।
‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनपर्छ ।
मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्याउन आदेश जारी गरेपछि सरकारले घर पुर्याउने नीति अवलम्बन गरेको उनले बताए ।
बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताए । मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको स्पष्ट पारे ।
प्रकाशित मिति: