बिनोद बाबु रिजाल(पत्रकार),भरतपुर –
म पत्रकार हुँ । पन्ध्र वर्षदेखि यही पेशामा छु । चितवनबाट नियमित रुपमा प्रकाशन हुँदै आएको ‘कायाकैरन’ दैनिक स्थापना भएको चौध वर्ष भयो । म यो पत्रिकामा पहिलो दिन बाटै कार्यरत छु । अहिले यो पत्रिकाको सम्पादक छु । सम्पादकीय नेतृत्वमा काम गरेकै करिब एक दशक पुग्यो होला ।
लकडाउनको बेला सर्वसाधारणलाई सचेत गराउन, रोगको संक्रमण फैलन नदिन तीन पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी । यसैलाई मानेर हामीले दरिलो भूमिका निर्वाह गरिरहेका छौँ ।
पत्रपत्रिकाबाट पनि रोगको संक्रमण सर्नसक्छ भनेर हामीले कायाकैरनको प्रिन्ट संस्करण ‘लकडाउन’ सुरु भएदेखि नै बन्द गरेका छौँ । चितवनका अरु पत्रिका पनि निस्केका छैनन् । तर, अहिलेको झन् सशक्त माध्यम अनलाइन अझै धेरै अद्यावधिक गरिरहेका छौँ । सकेसम्म घरमै बसी ‘अपडेट’ गरिरहेका हुन्छौँ । त्यसका लागि समाचार सामग्री लिन कहिलेकाहीँ घरबाहिर निस्किनै पर्छ ।
हिजो सोमबार पनि फोटोका लागि फिल्डमा गएको थिएँ । तर, सुरक्षाकर्मीबाट साह्रै नै नमीठो र दुःखद धरपकड, गिरफ्तारी र मानसिक तनाव बेहोर्नुपर्यो ।
लकडाउन मान्नुपर्छ भनेरै ३५ दिनको बन्दाबन्दीमा समाचारका लागि म जम्मा तीन दिन बाहिर निस्किएको छु । उपचारका लागि अस्पताल गएको बेला मैले कहिल्यै पत्रकारको कार्ड देखाएको छैन । र, घरबाट अस्पताल र अस्पतालबाट घरभन्दा दायाँबायाँ गरेको पनि छैन । तै पनि यस्तो दुव्र्यवहार, गिरफ्तारी र मानसिक तनाव बेहोर्नुपर्यो ।
म हिजो सोमबार बिहान के भएको थियो भन्ने विषय प्रस्तुत गर्दैछु ।
लकडाउनको ३५ औं दिन थियो सोमबार । बिहान करिब १० बजेतिर भरतपुर – १० स्थित घरबाट निस्किएँ । भरतपुरको चौबीसकोठीमा प्रहरीले निकै कडाइ गरिरहेको र धेरै सर्वसाधारणलाई रोकिरहेको सूचना पाएर त्यता गएको थिएँ । म ना. ६४ प ३९८९ नम्बरको स्कुटरमा थिएँ । म पुग्दा प्रहरीले चौबीसकोठी चोकमा ५०–६० वटा मोटरसाइकल रोकेर सबैलाई केरकार गरिरहेका थिए । मलाई पनि एक प्रहरी जवानले रोके । मैले घाँटीमा झुण्ड्याएको प्रेस परिचयपत्र देखाएँ र रिपोर्टिङका लागि आएको जानकारी गराएँ । तर, उनले ‘मिडिया थाहा छैन, साइड लगाउनुस्’ भने । मैले ‘३५ दिनको लकडाउनमा कोही पनि पत्रकारलाई रोकिएको छैन, म पनि कहिलेकाहीं निस्किँदा रोकिएको छैन, जान दिनुहोस्’ भने । तर, उनले मानेनन् ।
सयौं सर्वसाधारण रोकिएका थिए । बैंकर, विद्यालय शिक्षक, अस्पताल हिँडेका, औषधि किन्न हिँडेका, इन्टरनेट सेवा प्रदायक, अक्सिजन आपूर्तिकर्ता रोकिएका थिए । यति धेरै मान्छे रोकिन हुँदा म पनि एकछिन रोकिन के हुन्छ र भन्ने ठानेर मैले मेरो स्कुटर साइड लगाएँ । चाबी झिकेँ र एकछिन यताउति गतिविधि हेरेँ । केही फोटो पनि खिचेँ ।
अलि पर एकजना सई (प्रहरी नायब निरीक्षक) रहेछन् । उनी आफ्नो सञ्चारसेटबाट केही बोलिरहेका थिए । फिल्डको कमान्डर उनी रहेको ठानी म नजिक गएँ । ‘सई सा’ब म पत्रकार हुँ, मलाई अगाडि जान दिएनन्, तपाईँले जान दिनुपर्यो’, उही घाँटीमा झुन्डिएको कार्ड देखाउँदै भने ।उनले पनि आफूले छोड्न नसक्ने बरु डीएसपीलाई फोन गर्नुस् भने।
मैले चितवनका एसपी (प्रहरी उपरीक्षक) नान्तिराज गुरुङको मोबाइलमा फोन गरेँ । तर, उठेन । यतिबेरसम्म प्रहरीका दुई ट्रक आए । दुवै गाडीमा प्रहरी रहेछन् ।
म फेरि मेरो बाइक भएको ठाउँमा नै फर्किएँ । त्यहाँ भिडको नेतृत्व धिताल थर गरेका एकजना हवल्दारले गरेका रहेछन् । पछि बुझ्दा उनको पूरा नाम लुमदी धिताल रहेछ । त्यहाँ बैंकका कर्मचारी, सहकारीका कर्मचारी, विद्यालय शिक्षक अनेकौं अनुरोध गरिरहेका थिए ।
एउटा बाइकमा आएका दुईजनालाई प्रहरीले रोक्यो । उनीहरुमध्ये एक जना बिरामी भएको र अस्पताल जान लागेको भन्दै अस्पतालको कागज देखाए । तर, हवल्दारमा कुनै संवेदना देखिएन । ‘यस्ता जाबो कागज सबैले बनाउँछन्’ भनेर बाइकको चाबी नियन्त्रणमा लिए ।
महानगरले रिजल्ट सार्वजनिक गर भनेको छ, त्यही भएर विद्यालय जान लागेको भन्दै विद्यालय पोसाकमै भएका एक शिक्षकले अनुरोध गरे । ‘कसैलाई छोडिन्न’ भन्दै उनको पनि चाबी खोसे ।
अक्सिजन सप्लायर्स बताउँदै प्रशासनले जारी गरेको पूर्जी देखाउनेलाई पनि ‘यसले केही हुन्न’ भन्दै चाबी खोसे ।
अब पालो आयो मेरो ।
‘यो कसको ?’ मेरो स्कुटरको भाइजरमा झ्याम्म हानेर उनले आफ्नो गुण्डाशैली देखाए । मैले फेरि उसैगरी ‘स्कुटर मेरो हो र मेरो परिचय यो हो’ भनेर कार्ड देखाएँ । उनले मेरो कार्ड झट्कारेर ‘यस्ता जाबो कार्ड सबैले बनाउँछ, मिडिया भनेर हुँदैन, यो गाडीको पास खै ?’ भनेर फेरि स्कुटरको भाइजरमा हात बजारे । ‘आजसम्म पत्रकारको आईडी कार्डले रोडमा चल्न दिइएको छ त, गाडीको पास हामीलाई कहाँ दिएको छ त नि’ भने ।
उनको अनुहार र बोलीमा भिन्दै पारा थियो । भिन्दै शैली थियो । खै उनी के खाएर आएका थिए वा कस्तो निर्देशन लिएर आएका थिए म जान्दिनँ । तर, उनको प्रस्तुति साँच्चै अजीवको थियो । मैले आफ्नो कार्ड देखाएको र पत्रकार भएकोले पास हुन पाउँछु भनेको कुराले उनलाई झनै दिमाग तातेछ क्यारे । ‘ओइ, यसको चाबी खोस्’, उनकै सहकर्मीलाई निर्देशन दिँदै उनी फतफताए, – ‘‘पत्रकार भन्या’छ, जाबो कार्ड भिरेको छ, फोटो खिच्या’छ ।’’
त्यसपछि दुई/तीन जना प्रहरी जवान मलाई झ्याप्पै छोप्न आए । ‘‘खै चाबी दे’’ तिनीहरुले भने । मैले दिइन । ‘‘तपाईंहरुले किन यस्तो गर्नुभएको, ३५ दिनसम्म लकडाउन हुँदा पत्रकारलाई यस्तो कहीँ गरिएन, आज एक्कासि के भयो ?’’, मैले अझै जान्न खोजेँ – ‘‘प्लीज मिडियालाई यसो नगर्नुस् ।’’ हवल्दारले सुनिरहेका रहेछन् पिटुँला झैँं गर्दै आए । चाबी खोस्न खोजे । मैले अझै दिइनँ । ‘‘म समाचार संकलनका लागि आएको हुँ, मलाई जान दिनुहोस्, मेरो स्कुटर नलैजानुहोस्’’, भने । ‘‘ओइ यो स्कुटर गाडीमा हाल’’, उनले फेरि निर्देशन दिए ।
यति भनेपछि ५/७ जना आएर मलाई धकेलेर स्कुटरबाट झारे र स्कुटर उचालेर गाडीमा हाले । उनीहरुले मेरो स्कुटर उचालेको र गाडीमा हालेको फोटो खिचेँ । अरु व्यक्तिहरु सबैको चाबी खोसियो, सबै बाइक चलाएरै जिल्ला प्रहरी कार्यालय लगे ।
मेरो सवारीसाधन नै नियन्त्रणमा लिएपछि पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई फोन गरेर जानकारी गराइहालेँ ।
अलि पर रेडियो त्रिवेणीका निर्देशक अर्जुन अधिकारीलाई देखेँ । उनलाई पनि त्यस्तै गरेका होलान् भनेर नजिकै गएँ । उनले ममाथि गरेको सबै दुव्र्यवहार देखेका रहेछन् । तर, मास्क र हेल्मेट नखोलेकोले मलाई चिनेका रहेनछन् । मास्क खोलेपछि उनले चिने । त्यतिखेरसम्म उनको बाइक प्रहरीले लगिसकेको रहेछ । उनले सजिलै प्रहरीलाई चाबी बुझाएछन् । गाडीमा हालेको मेरो स्कुटर भएको थाहा पाएपछि उनले फोटो खिचे । यो देखिरहेका हवल्दार फेरि झम्टिँदै आए । ‘‘किन फोटो खिचिस् ?’’, उनले रुखो वचन फाले । अर्जुनजीले आफू मिडियाकर्मी भएको र समाचारका लागि फोटो खिचेको बताए । ‘‘ओइ, यो पनि बढी भयो, यसलाई गाडीमा हाल अनि मोबाइल खोसेर फोटो र भिडियो सबै डिलिट गर्दे ।’’
यति भनेपछि अर्जुनजीलाई तीन जना प्रहरीले कठालो समातेर ट्रक चढाए । मेरै आडमा सञ्चारकर्मी साथीलाई गाडीमा हालेपछि मैले मिडियाकर्मीलाई नलैजानुस् भने । हवल्दार फेरि उम्लिए – ‘‘ओइ यसलाई पनि हाल ।’’
उसैगरी मलाई पनि हाले ।
मेरो मोबाइल खोस्न लागे । त्यहीबेला पत्रकार महासंघका अध्यक्ष खतिवडाको फोन आयो । हतारमा रिसिभ गरेर ५ सेकेन्डमै भनिहालेँ – ‘‘मलाई प्रहरीले गिरफ्तार गर्यो, मलाई गाडीमा राखेको छ, मेरो मोबाइल खोस्दैछ ।’’ यति भन्न भ्याउँदालगत्तै प्रहरीले मेरो हातबाट मोबाइल खोस्यो । ‘‘ओइ फोटो भिडियो डिलिट गर्नुपर्यो, लक खोल’’ – उस्तै रुखो स्वरमा एक जवानले भने । ‘‘पत्रकारले सार्वजनिक ठाउँमा खिचेको फोटो डिलिट गर्दैन ’’, मैले भने । गर्नैपर्छ भनेर दबाब दिए । धेरै दबाब दिएपछि अर्जुनजीले डिलिट गर्न मोबाइल अनलक गरिसकेका थिए । तर, मैले डिलिट नगर्न भने । उनले फेरि प्रहरीलाई नै मोबाइल दिए । मोबाइल अफ गरेर राख्न हवल्दारले अह्राए । अर्जुनजीको अफ गरे ।मेरो मेसो पाएनन् ।
सडकमा अर्को एउटा बाइक बाँकी थियो । त्यो पनि हाल्न हवल्दारले अह्राए । बोकेर हाले । अगाडि नै मेरो स्कुटर हालेकोले गाडीमा अटेन । ‘त्यो स्कुटर उता पछार्दे’, हवल्दार अझै उम्लिए । माथि भएको प्रहरीले स्कुटर धकेल्दिए । अनि पछाडिबाट अघि हालेको बाइक ठेल्दिए । त्यो धक्काले मेरो स्कुटरको पछाडिको भाइजर पक्लक्कै उप्कियो । स्कुटर लड्यो। पछाडिबाट ठेलिएको बाइकले मेरो खुट्टा बीचमा च्यापियो । बिस्तारै मिलाएर खुट्टा बाहिर निकालेँ ।
हामीलाई जिल्ला प्रहरी कार्यालय लगियो । यति गर्दासम्म पनि जिल्लामा लगेपछि त डीएसपी वा एसपीसम्मले पक्कै कुरा बुझ्लान्, हामीलाई छाडिदेलान् भन्ने लागिरहेको थियो ।
गाडी जिल्ला प्रहरी कार्यालयभित्र छिराइयो । पछाडि हामीसँग दुई प्रहरी थिए । अगाडि क्याबिनमा उनै हवल्दार रहेछन् । झरे । ‘बाइक झार’, तिनले निर्देशन दिए । प्रहरीहरुले झारे । ‘यिनीहरुलाई के गर्ने सर ?’, माथिबाट सोधियो । हवल्दारको हुकुम आयो, ‘यिनीहरुलाई क्वारेन्टिनमा लगेर हुल्दे ।’’
गाडी घुमाएर हामीलाई भरतपुर कभर्डहल लगियो । क्वारेन्टिनको नाममा हामीजस्तै गरी उठाएर ल्याइएकालाई त्यहाँ दिनभर उभ्याइने रहेछ ।
त्यहाँ यमलाल मुक्तान नाम गरेका हवल्दार रहेछन् । गाडीमा लगेका प्रहरीले हामीलाई उनको नियन्त्रणमा हस्तान्तरण गरे । हामीबाट कब्जामा लिइएको दुई मोबाइल पनि मुक्तानलाई दिए । उनी टेबलमा एउटा ढड्डा लिएर बसेका थिए । त्यहाँ लामै सूची थियो । हामीलाई अगाडि उभिन भने ।
क्रमैसँग हाम्रो नाम, ठेगाना, उमेर, पक्राउ परेका ठाउँ, मोबाइल नम्बर सोधे । र, उभिइरहन अह्राए । जे जे भने त्यही गरियो । उनले किन चौबीसकोठी गएको ? के गर्दा समातेको ? अनेक प्रश्न गर्न लागे । मेरो परिचयपत्र घाँटीमै झुन्डिरहेको थियो । त्यही देखाएर भने – ‘‘रिपोर्टिङ गर्न गएको, कार्ड देखाउँदा देखाउँदै उठाएर ल्याए ।’’
मेरो मोबाइल ती हवल्दारले टेबलमा राखेका थिए । स्वीच अन नै थियो । त्यहीबेला पत्रकार महासंघ अध्यक्षको फोन आयो । मैले फोन मागेँ । पत्रकार भएको जानकारी पाएर हो वा खै के भएर हो उनले चाहिँ फोन उठाउन अनुमति दिए । मैले एकै सासमा प्रहरीले जिल्ला कार्यालयमा नझारी क्वारेन्टाइनमा ल्याएर थुनेको जानकारी अध्यक्षलाई गराएँ र तुरुन्त हामीलाई निकाल्न आउनुस् भने । हामीलाई अझै केरकार गरे । उनी बेलाबेलामा कतै फोन पनि गर्दै थिए, हाम्रो बारेमा रिपोर्टिङ गर्दै थिए । ‘जय नेपाल सर’ भन्दै फोनमा बोलेकाले आफूभन्दा माथिल्लो अफिसरलाई गरेको प्रष्ट हुन्थ्यो । उनले ‘‘खै सर घाँटीमा कार्ड झुन्ड्याएको छ, पत्रकार हुँ भन्छ’ भन्दै थिए ।
केहीबेरमा एकजना सई आए । उनको छातीमा केबी अधिकारी लेखिएको नेमप्लेट थियो । हवल्दारले तन्किएर सलाम गरे । आफू बसेको कुर्सी छोडिदिए । अधिकारी बसे । फेरि सुरुदेखि नै सबै सोध्न थाले हामीलाई । उनले पनि उसैगरी ‘जय नेपाल सर’ भन्दै कता कता के के सुनाए । कार्ड झुन्ड्याएका पत्रकार ल्याएर राखेको रिपोर्टिङ गरे ।
हामीलाई ल्याएको गाडी फेरि आइपुग्यो । यसपटक एकजना बैंकका कर्मचारी ल्याइएको रहेछ । उनी देवघाट जानुपर्ने रहेछ पटिहानीबाट । हाकिमचोकमा समातिएछन् । बैंकबाट ‘जसरी पनि आउनूू’ भन्ने प्रहरीले जान नदिने गरेकाले बिलख बन्दमा परेपछि उनले बैंकमा फोन गरेछन् । आफ्नो बाइक नियन्त्रणमा लिएको जानकारी गराएछन् । बैंकबाट ‘हिँडेर भए पनि आइज’ भनेपछि उनले हाकिमलाई पठाउन प्रहरीले नियन्त्रणमा लिएको बाइकको फोटो खिचेछन् । ‘फोटो किन खिचिस् ?’ भनेर उसनैलाई उठाएर सिधै क्वारेन्टिन पुर्याइएछ ।
ती बैंक कर्मचारीलाई पनि क्वारेन्टिनमा हालियो । हामी उभिइरहेकै थियौँ ।
पत्रकार महासंघका अध्यक्ष आइपुगे । अध्यक्ष खतिवडाले आफ्नो परिचय दिएर दुईजना पत्रकारलाई लिन आएको भने । सई अधिकारीले एकछिन बस्नुस् भने । फेरि कता कता फोन गरे । ‘‘तपाईँहरुले फोटो र भिडियो खिच्नुभएको छ रे, डिलिट गर्नुपर्ने भयो,’’उनले गफगाफको निचोड सुनाए ।
हामी छक्क पर्यौँ । सबै प्रहरी प्रशासन हाम्रै फोटो र भिडियोको पछि लागिरहेका छन् । त्यसमा त्यस्तो ठूलो कुरा पनि केही छैन । मात्रै प्रहरीले चौबीसकोठीजस्तो सार्वजनिक ठाउँमा चेकजाँच गरिरहेको दृश्य छन् ।
‘‘डिलिट गरिन्न’’, महासंघ अध्यक्ष खतिवडाले अडान लिए । ‘‘गर्नू भन्ने निर्देशन आ’को छ’’, सई पनि आफ्नै अडानमा उभिए ।
‘‘हामी गर्दैनौ’’, खतिवडा झन् कडा देखिए ।
सई के गर्ने, के नगर्ने अवस्थामा पुगे । उनले अध्यक्ष खतिवडाको सबै विवरण टिपे हाम्रो नाम लेखिएको ढड्डामै । नाम, ठेगाना, उमेर, मोबाइल नम्बर सबै । अनि सही गर्न भने । हामी दुईलाई पनि सही गराए । अनि ‘जानुस्’ भने । तर, मोबाइल उनकै नियन्त्रणमा थियो । मैले मागेँ । ‘‘फोटो र भिडियो त फाल्नै पर्यो सर’’,उनी अझै उही मागमा अडिग रहे । ‘‘तपाईँ अझै त्यसैमा अल्झिनुभएको छ, म गर्दिनँ, के गर्नुहुन्छ गर्नुहोस्’’, मैले सुनाएँ । ‘‘त्यसो भए के–के रहेछ एकचोटि मलाई देखाइदिनुहोस्’’, उनी यो हदमा आइपुगे । उनी माथिको निर्देशन र हाम्रो एकोहोरो अडानको बीचमा बिलखबन्दमा परेको मैले बुझेँ । अनि लक खोलेर सबै फोटो देखाइदिएँ । उनले अमिलो मुख लगाएको प्रष्टै देखिन्थ्यो । हामी निस्कियौँ, उनी गेटसम्मै छोड्न आए ।
यति गर्दा प्रहरीले हामीलाई धरपकड गरेर नियन्त्रणमा लिएको डेढघन्टा बितेको रहेछ । पत्रकार महासंघ अध्यक्षले आफू जमानी बसेर हामीलाई निकाली सिधै महासंघ कार्यालय ल्याए ।
महासंघबाट पत्रकार महासंघका सबै पदाधिकारी, पत्रकारका विभिन्न पेसागत संघसंगठनलाई जानकारी गराइयो । सबै संगठन प्रमुख तथा प्रतिनिधि आए । छलफल गरियो । छलफलबाट पत्ररकारमाथिको ज्यादती सिंगो प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको निचोड निकाल्दै संलग्न प्रहरीलाई कारबाही माग गर्ने निर्णय भयो । नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनले संयुक्त विज्ञप्ति निकाले । पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति निकाल्यो । चितवन जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि विज्ञप्ति निकालेर भत्र्सना गर्यो ।
प्रमुख जिल्ला अधिकारीलाई भेट्न गयौँ । घटना विवरण सुनायौँ । उनले पत्रकारलाई रोक्ने, छोक्ने र गिरफ्तार गर्ने प्रशासनको नीति र निर्देशन नभएको जिकिर गर्दै गल्ती भएकोमा दुःख व्यक्त गरे । आगामी दिनमा यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
हामी एसपीसँग छुट्टै बस्न चाहन्थ्यौँ । उनी पनि प्रमुख जिल्ला अधिकारीसँगै थिए । कार्यालय प्रमुखको बैठकका लागि उनी गएका रहेछन् । साढे ४ बजे प्रहरी कार्यालयमै भेट्ने भने । त्यतिखेर साढे ३ भएको थियो ।
दुःखलाग्दो र अनौठो घटना त फेरि भयो ।
प्रमुख जिल्ला अधिकारीलाई भेटी फर्किएर पत्रकार महासंघ आइपुग्यौँ । बिहान सवारीसाधन नियन्त्रणमा लिइएका दर्जनौ मान्छेहरु प्रहरी कार्यालय अगाडि उभिइरहेका रहेछन् । उनीहरु सवारीसाधन फिर्ता दिन याचना गरिरहेका थिए । त्यो देखेर पत्रकार प्रमिता ढकाल फोटो खिच्न थालिन् । तर, उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो । मोबाइल खोसियो र उनलाई भित्र लगियो ।
पत्रकार राजु चौधरी पनि भिडियो खिच्न लागे । उनलाई पनि उसैगरी नियन्त्रणमा लिने प्रयास भयो । तर, उनी जान मानेनन् । पत्रकार रामकान्त पौडेलले कसैगरी मोबाइल खोस्न दिएनन् । प्रहरी फर्कियो ।
अब त अति भयो भनेर महासंघको नेतृत्वबाट गृह मन्त्रालयसम्म सम्पर्क गरियो । पत्रकारमाथिको ज्यादती सुनाइयो । यसपछि एसपी कार्यालय प्रमुखको बैठक छोडेर ५ मिनेटमै जिल्ला प्रहरी कार्यालय आइपुगे।प्रमितालाई बाहिर निकालियो।
फेरि पत्रकार महासंघको नेतृत्वमा एसपीकहाँ गइयो । सबै घटना विवरण जानकारी गराएर आपत्ति जनायौँ । एसपीले आफूहरुको नियत पत्रकारलाई दुःख दिने नभएको तर कमजोरीवश पत्रकारमाथि ज्यादती भएकोमा क्षमा याचना गरे । उनले घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । हामी फर्कियौँ । फर्किँदा साँझको ६ बजिसकेको थियो ।
घर फर्किएपछि पनि मेरो दिमागमा दिनभरका घटनाक्रम घुमिरहे । प्रहरीले पत्रकारमाथि एक्कासि किन यस्तो व्यवहार गर्यो होला भनेर अचम्मित पनि भएँ ।
जस्तोसुकै महामारी, युद्ध, प्रकोपका घटनामा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी अग्रपंक्तिमै हुन्छन् । समाचार संकलनका लागि निर्बाध आवतजावत गर्न पाउने कुरालाई संविधानले नै सुनिश्चित गरेको छ । यसलाई सबैले स्वीकार गरेका पनि छन् । तर, कानूनको कार्यान्वयनकर्ता प्रहरी बेलाबेलामा दानव बनेर किन प्रस्तुत हुन्छन् होला ?
पैँतीस दिनसम्मको लकडाउनमा पत्रकारहरु सकेसम्म घरै बसेर रिपोर्टिङ गरिरहेका छन् । निक्लनै पर्ने अवस्थामा मात्रै बाहिर आएका छन् । अरु कार्यालय कर्मचारी, अस्पताल जानुपर्नेहरु पनि साह्रै नै बाध्यता नपरी सडकमा आएका छैनन् । प्रहरीको चेकिङ देखी देखी त्यहीँ गएर झोसिनु भनेको बाध्यताकै कारण हो । उनीहरु निस्कनै परेरमात्रै निस्किएका हुन् । त्यसैले बाध्यताको हद बुझेर छोडिदिनु पनि पर्छ ।
फिल्डमा खटिएका प्रहरीहरुको बोली यस्तो हुन्छ कि सुन्न सकिन्न । व्यवहार यस्तो हुन्छ कि सहन सकिन्न । सञ्चारकर्मीले आफू सञ्चारकर्मी भएको जानकारी गराउँदा गराउँदै उसलाई गिरफ्तार गरी गाडीमा हाल्ने, उसको सवारीसाधन नियन्त्रणमा लिने, सञ्चारसामग्री खोस्ने, फोटो भिडियो डिलिट गर्ने यो लोकतान्त्रिक प्रशासनले गर्ने व्यवहार होइन । पञ्चायती शासनको बेला, जनआन्दोलनको बेला पनि यस्तो भोगेका थिएनन् पत्रकारले ।
भन्नलाई प्रमुख जिल्ला अधिकारी र एसपी दुवैले पत्रकारलाई ज्यादती गर्ने र बन्धक बनाउने नीति निर्देशन आफूहरूको नभएको भने । तर, मलाई त्यस्तो लाग्दैन । ‘चेन अफ कमान्ड’मा काम गर्ने प्रहरी संगठनको एकजना हवल्दारले विना निर्देशन व्यक्तिगत सनकको भरमै यतिसम्मको हर्कत गर्न सक्दैन । नियन्त्रण गर्ने, प्रहरी कार्यालय ल्याउने, क्वारेन्टिन पठाउने, फेरि पटकपटक अरू साथीहरूलाई नियन्त्रणमा लिने, क्वारेन्टाइनबाट पटकपटक रिपोर्टिङ हुँदा नसुनिनुले प्रमाणित गर्छ – प्रहरी संगठनको स्पष्ट निर्देशन पत्रकारसमेतलाई ‘दुःख दिनू’ भन्ने नै छ ।
हामीमाथि जे भए, त्यो अब अरु पत्रकारले भोग्नु नपरोस् भन्ने हाम्रो भनाइ हो । पत्रकार महासंघ, विभिन्न पेसागत पत्रकार संगठनहरुले हामीमाथि भएको ज्यादतीको डटेर विरोध गरे । उनीहरुले आवाज बुलन्द गरिदिए । ती संगठनप्रति हार्दिक कृतज्ञ छु । पत्रकारले मात्रै होइन बाध्यतावश सडकसम्म आएका कसैले पनि यस्तो अवस्थाको सामना गर्नु हुँदैन ।
हामी त बोल्न सक्ने थियौँ तर दिनभर सवारीसाधन नियन्त्रणमा लिएर प्रहरी कार्यालयअघि उभ्याइएकाहरुको आवाज कसले उठाइदिने ? उनीहरुमाथि दुव्र्यवहार गरिएकामा कसले माफी मागिदिने ? उनीहरुलाई न्यायको महसुस कसले गराइदिने ?
लकडाउन उल्लंघन गरेको आरोपका आधारमा सर्वसाधारणको मर्का र बाध्यतै नबुझी गिरफ्तार गर्ने र दिनभर क्वारेन्टाइनको नाममा कभर्डहलमा तनावपूर्ण रूपले थन्क्याउने गरिएको छ । तिनको आवाज सुनिदिने कोही छैनन् । हाम्रै केसमा पनि बेलैमा पत्रकार महासंघलाई जानकारी गराउन नपाएको भए दिनभर कभर्डहलमा राखिने रहेछ । कति तनाव दिन्थे होलान् ? कसैसँग सम्पर्कसम्म गर्न पाउने अवस्था थिएन । मोबाइल उनीहरूकै नियन्त्रणमा थियो । हामी लाचार थियौँ । पहिले नै जानकारी गराएका थियौँ र पत्रकार महासंघले खोज्दै गयो ।
यो गम्भीर विषयलाई अरू पत्रकार र मानव अधिकारकर्मीले पनि ध्यान दिऊन् भन्ने चाहन्छु ।
(लेखक कायाकैरन पत्रीकाका सम्पादक हुन ।)