वितण्डा मच्चाउने‘ध्रुवे’ हात्तीको दाह्रा काटेर रेडियोकलर जडान

0
126

चितवन, बैशाख १२ । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ। बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ।

केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ गर्न शुरु गरिएको हो। रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ–कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ। “दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले भने। विसं २०६९ मङ्सिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जिपीएससहित रेडियोकलर जडान गरेको थियो। पुस १५ देखि हात्ती सम्पर्कविहीन भयो।

रेडियोकलर माघ २४ गते पर्सा निर्मलबस्तीको जङ्गलमा फेला परेको थियो। यो समयमा ध्रुवेलाई मार्नुपर्ने चर्को आवाज पनि नउठेको हाेइन। त्यसपछि ध्रुवे करिब तीन वर्षअघि मात्रै निकुञ्जमा देखियो। वर्षको एक दुईपटक हात्ती प्रजनन केन्द्र खोरसोर देखापर्ने ध्रुवे आजभोलि बोक्लोरूपमा देखिँदै आएको छ। यही मौका परी निकुञ्ज र संरक्षण केन्द्रले ध्रुवेलाई रेडियोकलर लगाउन सफल भएको हो।

यस पटक भने स्याटेलाइट रेडियोकलर जडान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत डा.बाबुराम लामिछानेले भने, “यो कम्तीमा दुईदेखि चार वर्षसम्म चल्छ। जिपीए रेडियोकलरभन्दा यसबाट हात्तीको अवस्था छिटो पत्ता लगाउन सकिन्छ।”

विसं २०६९ कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मङ्सिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास शुरु भएको थियो। ध्रुवेले विसं २०६६ देखि २०६९ भित्रको समयमा १५ जनाको ज्यान लिएको थियो भने ५० बढी घर भत्काएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन्। तिनीहरू एक्लाएक्लै हिँड्छन्। तिनै हात्तीले मानव बस्ती प्रवेश गरेर धनजनको ठूलाे क्षति गर्ने गरेका छन्।

नेपाल–भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा छन्। निकुञ्जले पालेका ५७ हात्ती छन्। चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे र रोनाल्डोलाई रेडियोकलर जडान गरिएको छ। चितवनमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ। वर्षौँदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ। – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here