कोरोना संक्रमित चितवनका एक युवक निको भए, भोलि डिस्चार्ज हुने

0
100

चितवन, वैशाख १२–

चितवनका कोरोना संक्रमित एक युवकको तेस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ ।

आज (शुक्रबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पुनः परीक्षणमा राप्ती नगरपालिका–८ का २७ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकरी दिए । उनले भने–‘कोरोना संक्रमण देखिएपछि दुईपटक पुनः परीक्षण ग¥यौं, दुई पटक नै रिपोर्ट नेगेटिभ आएको छ ।’ यो रिपोर्टले ती युवक निको भएको पुष्टि भएको छ । उनको डिस्चार्ज बारे भोलि बस्ने मेडिकल टिमको बैठकले निर्णय लिने सूचना अधिकारी पौडेलले बताए ।

यस्तै भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएकोले भोलि नै डिस्चार्ज गर्ने गरी तयारी गरिने बताए । ती युवकको वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी बेलायतबाट चैत ३ गते नेपाल आएर चैत ५ गते चितवन आएका थिए । उनीसंगै संक्रमण देखिएका उनको आमाको दोस्रो परीक्षण पनि पोजिटिभ आएको थियो । उनीहरु हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा छन् ।

आज चितवनमा २४ वटा नमुना परीक्षण गरिएको थियो । भरतपुर अस्पतालबाट ५, कोरोना अस्पतालबाट ९, गुञ्नमान सिंह अस्पताल रत्ननगरबाट ६ र चितवन मेडिकल कलेजबाट ४ वटा नमूना परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here