अवस्था सामान्य नभए सम्म भारत सँगको सीमा नखुल्ने, लकडाउन पनि लम्बिने सक्ने संकेत

0
134

काठमाडौं, वैशाख १०-

विश्वभर महामारीका रुपमा देखिएको कोरोना महामारीलाई लिएर अहिले विश्व संकटमा छ । यो बीचमा एक देशले अर्को देशसँगको सीमा बन्द गरेको छ । त्यो मात्रै होईन प्रदेश देखि स्थानीय तहसम्म सीमा बन्द छन् ।

 

नेपाल र भारतबीच पनि लामो समयदेखि सीमा बन्द छ । अहिले बाहिर आएको जानकारी अनुसार यो तत्कालिन अवस्थामा खुल्ने देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गर्नुभएको छ ।

आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने तर सीमानाका नखुल्ने बताउनु भएको हो ।

प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुन सक्ने बताउनु भएको छ । यस अघि प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन सक्ने संकेत गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने , ‘मान्छे नै नरहने स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ ।’

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

नेपालले भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँने भएको छ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो भन्ने बुझाई प्रधानमन्त्रीको रहेको छ । नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले यो समयमा अर्थतन्त्रको नाफाघाटा नहेर्ने पनि स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ । यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौँ । लकडाउन पनि त्यसैको उपज हो ।’

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएकाले लकडाउन लम्ब्याउने वा अन्य विकल्प रोज्ने भन्नेबारे बहस भइरहेको विशेष स्रोतले बताएको छ । छ ।

यसका साथै,  भारतमा लकडाउन लम्बिए नेपालमा पनि लम्बिने अनुमान समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here