त्रिविले लकडाउन अवधीभर अनलाइनमा पढाउने

0
119

काठमाडौँ, वैशाख ९- लकडाउनका कारण त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरुद्ध स्नातकोत्तर तहको पठनपाठन अनलाइन प्रविधिबाट सुरु गरेको त्रिविले जानकारी दिएको छ । लकडाउन अवधि लामो हुने सङ्केत देखिएपछि विश्वविद्यालयले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालेको हो ।

 

प्रविधि चलाउन सक्षम विश्वविद्यालयका शिक्षकले आफ्नै घरबाट बन्दाबन्दीमा परेका विद्यार्थीलाई पढाउन थालेको विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले जानकारी दिनुभयो । स्नातकोत्तर तहतर्फ सेमेस्टर प्रणालीमा सञ्चालित दोस्रो तथा चौथो वर्षका कक्षा सञ्चालन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो सेमेस्टरमा हाल विद्यार्थी भर्ना मात्रै भएकाले धेरै विद्यार्थी सम्पर्कमा नआएको बताइएको छ । त्रिविका अनुसार स्नातकोत्तरमा विज्ञान तर्फका भौतिक शास्त्र, वातावरण विज्ञान, सूक्ष्म जीव विज्ञान, बायो टेक्नोलोजी लगायतका केन्द्रीय विषयमा पढाइ सञ्चालन गरिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले व्यवस्थापन सङ्कायतर्फ होटल व्यवस्थापन तथा एमबीए तर्फको कक्षा सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।

मानविकीतर्फ स्नातकोत्तर तहमा ग्रामीण विकास विभागले पहिलो सेमेस्टरका विद्यार्थीलाई अनलाइनबाट कक्षा प्रारम्भ गरेको छ । अनलाइनबाट कसरी पढाउने भन्ने विषयमा केन्द्रीय विभागीय प्रमुख र क्याम्पस प्रमुखसित थप छलफल पनि भइरहेको छ । विश्वविद्यालयले शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिमसमेत सञ्चालन गर्दैछ ।

कक्षामै पुगेर पढाउने बानी परेका शिक्षकलाई प्रविधिबाट कक्षा लिन सक्षम बनाउनुपर्ने भएपछि तालिम दिने योजना बनाइएको हो । पहिलो चरणमा ४० तथा अर्को चरणमा गरी तीन सय शिक्षकलाई तालिम दिइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here