के सधैं कोरोना भाईरस(कोभिड्-१९) को महामारी सँग चिन्तित भएरै बस्ने हो त?

0
451

कुल प्रसाद पौडेल ‘शिरिष’, भरतपुर –    हो,अहिले कोरोनाको महामारीले पूरा विश्व आक्रान्त छ र नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। यहाँ पनि विस्तारै यसले हाम्रो जिवनलाइ दिन प्रतिदिन पिडादायी एवं कस्टकर बनाउदै लगेको कुरा, देशको पूरा अर्थतन्त्र, उद्योग कलकारखाना, व्यापार, व्यावसाय सबै ठप्प गरि सारा मानिसहरू घर भित्रै सुरक्षीत रुपमा बसेको कुरामा हामी जानकार नै छौँ। अनि हजारौं मानिसहरू पैदल नै हिंडेर टाढा टाढा सम्म गएका, अनि कोहि बीचमै अलपत्र परेका, केहिलाई उचित व्यवस्थापन गरिएको, खाना- खाजा, पानी खुवाइएको, अति निम्न वर्गीय परिवार, मजदुरहरुलाई राहत वितरण गरिएका आदि इत्यादि समाचारहरुले सामाजिक संजाल तथा पत्रपत्रिकाहरु भरी भराउ भएको कुरा पनि हामिले देखिरहेकै छौँ । त्यति मात्रै नभएर बच्चाहरुले प्रत्यक्ष हेर्ने/ सुन्ने टेलिभिजन, रेडियोमा पनि समाचारको आधा भन्दा बढी अंश कोरोनाकै बारेमा हुने, कोरोनाकै विषयमा विभिन्न जनचेतनामूलक सन्देशहरु/ गितहरु क्षण क्षणमै प्रसारित भइरहेका छन् जुन अपरिहार्य नै छ जनतालाई सुसूचित गर्नका लागी। तर यसरी पुरै सन्चार माध्यम, परिवार, समाज कोरोनामय भइरहँदा त्यसले कलिला बालबालिकाहरु जसले कोरोनाको बारेमा तथ्य बुझ्न सक्दैनन् तर आफ्नो वरपर कोरोना कोरोना भनेको सुनिरहन्छन् , त्यस्ता बालबालिकाहरुको मस्तिष्कमा पर्ने गम्भीर नकारात्मक प्रभाव, मनोबैज्ञानिक डर, त्रासले उनीहरुमा पार्न सक्ने असरको बारेमा कमैको मात्र ध्यान गएको देखिन्छ।

यसैगरी बालबालिकाहरु मात्र नभई स्वयं वयस्क व्यक्तिहरुमा पनि लामो समयसम्म एउटै समस्यामुलक विषयवस्तुको बारेमा मात्रै पढ्ने, सुन्ने वा चर्चा गर्ने गर्दा पक्कै पनि उ मानसिक तथा मनोबैज्ञानिक रूपमा स्वस्थ रहला भन्न सकिन्न किनभने उसमा पनि थाहै नपाउने गरि कोरोनाको डर, तनाव र चिन्ताले भित्रभित्रै डेरा जमाइसकेको हुन्छ कारण उ हरेक क्षेत्रबाट प्रभावित छ जस्तो कि टेलिभिजन हेर्यो संक्रमीत एवं मृतकका सङ्ख्या बढेको बढेइ देखिन्छ, सामाजिक संजाल हेर्यो उस्तै समाचारहरुको ओइरो देखिन्छ। अझ व्यक्तिगत रुपमा राखिएका कतिपय तथ्यहिन धारणाहरु त्यति नै हानिकारक छन् जति व्यक्तिपिच्छे राखिने फरक फरक तथ्यांकसहितका समाचार एवं विचारहरु छन् । यीनले दिग्भ्रमित एवं भयभीत पारिरहेका त छन् नै यसका साथै मानिसहरुमा चिन्ता, तनाब र असुरिक्षत अनुभूति गराइ रोगसँग लड्ने शारीरिक, मानसिक तथा प्रतिरक्षा प्रणालीमा नकारात्मक असर समेत पारेका छन् ।त्यसैले यो संकटको घडीमा कसैले पनि नकारात्मक विचारहरु (विशेष गरि कोरोना सम्बन्धि) र आधारहीन कुराहरू सम्प्रेषण नगर्ने र कोरोना सम्बन्धि जानकारी र समाचारहरु पनि हरेक व्यक्ति व्यक्तिले प्रसारित नगरी आधिकारिक सञ्चारमाध्यम र पत्रकारहरुले मात्र सम्प्रेषण गरिदिने हो भने पनि यो कोरोनाको हाउगुजी केही कम पक्कै हुने थियो होला। यति भन्दै गर्दा सकारात्मक सोच/ सन्देश बोकेका लेख रचनाहरु, प्रेरणादायी बौद्धिक विचारहरुको जति नै प्रशंसा गरेपनि अपुग नै हुन्छ।

अहिले सारा बिश्व शोकमा छ र कैयौं मानिसहरु कोरोनाको सिकार भइ ज्यान गुमाउनु परेको छ । यस दु:खद घडीमा हामी अत्यन्तै दुखी र चिन्तित त पक्कै छौँ ।परिवारका सदस्य तथा आफन्त गुमाएकाहरुको पिडालाई पनि हामी कदापि नजरअन्दाज गर्न सक्दैनौं तर पनि के हामी सधैं शोकमै रहि रहन सक्छौं त? के आखिर हामिले यो पिडालाई भुल्नै पर्ने हुँदैन र ? जसरी हामिले भुकम्पको पिडा भुल्यौँ, ठुला ठुला बिपत्तिका पीडा भुल्यौँ र अगाडि बढ्यौं त्यसरी नै अघी बढ्नु पर्ने नै हुन्छ ।

सर्बत्र कोरोना कोरोना भनी कोरोनामय वातावरण भइरहेको समयमा यो भन्दा फरक प्रसङ्गका विचारहरु पनि प्रेषित गर्ने, अन्य विषयवस्तुका सिर्जनात्मक लेख रचनाहरु लेख्ने, सम्प्रेषण गर्ने, अध्ययन गर्ने गरेमा अत्यन्तै लाभदायक हुने थियो । यस विषम परिस्थितिमा केही बाहेक अधिकांश मानिसहरु आफ्नै घरमा सुरक्षीत रूपमा बसि परिवारसँग रमाउने, रुचि अनुसारका क्रियाकलापहरुमा मस्त हुने, अध्ययन गर्ने, फिल्म हेर्ने, सामाजिक संजालमा भुल्ने, खेत बारी/ करेसा बारीमा व्यस्त हुने, घरायसी कामहरू गर्ने आदि इत्यादि गर्दै समय व्यतीत गरिरहेका छन् । यद्यपि उनिहरु कोरोनाबाट त मुक्त होलान् तर यसको अनावश्यक डर, चिन्ता, तनाव, र सनसनीपुर्ण भ्रमहरुबाट भने मुक्त हुन सकेका छैनन् । यस्तो अवस्थामा के हामिले सधैं कोरोना कोरोना भनेर सधैं चिन्तित र भयभित हुनुभन्दा चिनका वुहानबासिले झैँ यो लक डाउनको अवधिलाई विशेष बनाउने, रमाइलो वातावरणको सृजना गर्ने, अनलाइनबाटै खुसीहरु साटासाट गर्ने, आफ्नै परिवारमा उत्सव तथा पर्वहरु मनाउने र यो अवधिलाई जिवनकै एक उत्कृष्ट र स्मरणीय बनाउने र सकारात्मक विचारहरुको प्रबाह गराइ पीडितहरुको पनि पीडा भुलाउने, रोगसँग लड्ने उर्जा प्रदान गर्ने र उनीहरुको मनोबल उच्च बनाउने गर्न सकिदैन र? साथै अन्य मानिसहरुमा पनि यस किसिमका क्रियाकलापहरुले कोरोनाबाट ध्यान अन्यत्र मोडिने र मनमा आनन्द र हर्षको आगमन गराउने कुरामा दुई मत नहोला परन्तु यसको अर्थ यो होइन कि हामी अरुको दुख र पीडामा उत्सव मनाऔं तथापि सन्सारको जो कोहिले पनि आफन्त गुमाएको पिडालाई मनमै दबाएर केही दिन पछि पुनः पहिलेकै सामान्य अवस्थामा फर्किनुपर्ने सत्यतालाई पनि हामी नकार्न सक्दैनौं ।

अन्तमा, स्वस्थ रहौं, मस्त रहौं । सकिन्छ आशाका किरण छरौँ, सकिदैन, निराशाको मन्दबिष छर्ने काम कोही कसैले नगरौं ।

(लेखक वाल्मिकि शिक्षा सदन,भरतपुरमा कार्यारत शिक्षक हुनुहुन्छ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here