काठमाडौँ, वैशाख ४ — पछिल्लो समय देश भरका बिभिन्न जिल्ला बाट आरडीटी विधिबाट कोरोना पोजिटिभ देखिएकोलाई पीसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नियमित मिडिया ब्रिफिङका क्रममा कुनै संक्रमित नभेटिएको जनाएका हुन्।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ। हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगन्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन्।
बिहीबारसम्म देशभर आरडीटी विधिबाट हालसम्म १२ हजार १ सय ९२ परीक्षण भएका छन् भने पीसीआर विधिबाट ७ हजार २ सय ४० नमुना परीक्षण भएका छन्। हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट १९ हजार ४ सय ३२ वटा परीक्षणहरु भएका छन्।
त्यसैगरी, आजको अपडेटमा आइसोलेसनमा देशभरी १ सय ३ जना रहेका छन्। काठमाडौंमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना रहेका छन्। क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना रहेका छन्।
ब्रिफिङका क्रममा उनले समय मिलाएर फार्मेसी सञ्चालन गर्ने प्रबन्ध मिलाइएको बताए। भविष्यमा आवश्कयता हुन सक्ने खालका १ सय ८९ वटा औषधीको खरिद पक्रियाको लागि अघि बढाइएको समेत उनले जानकारी दिए।
प्रकाशित मिति: