चितवनमा रगतको चरम अभाव

0
98

चितवन,६ चैत्र।

पछिल्लो समय कोरोना भाइरसको सन्त्रासका कारण जिल्लामा रक्तदान कार्यक्रम नै हुन छाडेका छन् ।कोरोना भाइरसको त्रास सँगै जिल्लामा नियमित रुपमा हुँदै आएका रक्तदानका कार्यक्रमहरु नहुँदा बिरामीहरुलाई समस्या परेको छ । जिल्लामा रगतको अभाव हुन थालेपछि बिरामीका लागि आवश्यक पर्ने रगत बिरामी स्वयंले नै खोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सामान्य अवस्थामा चितवनमा दैनिक एक सय ५० युनिट रगतको माग हुँदै आएको थियो । यद्यपि सामान्य अवस्थामा विभिन्न संघसंस्थाले प्रायः रक्तदान कार्यक्रम गर्दा रगतको अभाव हुन पाएको थिएन । रक्तदान गर्ने कार्यतालिका सार्वजनिक गरेका संघसंस्थाहरुले समेत रक्तदान कार्यक्रम स्थगित गरिदिँदा जिल्लामा रगतको आपूर्ति गर्न कठिन भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले फागुन २२ गतेपछि अहिलेसम्मका १० वटा रक्तदान कार्यक्रम स्थगित भएको जानकारी दिए । रक्त सञ्चार केन्द्र भरतपुरमा रगत मौज्दात नभएको हुँदा रगत माग्न आउने बिरामीलाई आफैले रक्तदाता समेत खोजेर ल्याउन लगाइएको पौडेल बताउँछन् ।रगत दिएर ज्यान नजाने तर रगत नपाएर मान्छेको ज्यान जानसक्ने भन्दै पौडेलले हरेक स्वस्थ नागरिकलाई रक्तदान गर्नका लागि आग्रह गरेका छन् ।

सरकारले भिडभाड हुने काम नगर्न निर्देशन दिएसँगै जिल्लामा रक्तदान कार्यक्रम हुन छोडेको भन्दै पौडेलले यसबाट बिरामीहरुलाई ठूलै मर्का पर्न गएको बताउँछन् ।