कालीकोटमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट),वैशाख ६- कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक दोहन हुँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका हुन् ।

जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण बहुमूल्य जडीबुटी दिनप्रतिदिन लोप हुँदै गएका छन् ।

पछिल्लो समय कालीकोटमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसी, सुगन्धवाललगायतका जडीबुटीको अभाव हुन थालेको खाँडाचक्र नगरपालिका–१ जडीबुटी व्यवसायी अजबहादुर गिरीले बताउनुभयो । 

“कालीकोटमा पाइने जडीबुटीको व्यावसायी खेतीको अभावका कारणले अहिले लोप हुने अवस्थामा पुगेका छन्”, उहाँले भन्नुभयो, “प्राकृतिकरुपमा जडीबुटीको दोहन मात्रै भयो । त्यसको व्यावसायिक खेती नहुँदा अहिले समस्या आएको हो ।”

परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटीहरु संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको रास्कोट नगरपालिका–२ देवीलाल न्यौपानेले बताउनुभयो । “गाँउमा दुःखी बिरामी हुँदा पहिले जडीबुटीकै भर थियो । बिरामी पर्दा तिनै जडीबुटीले उपचार गर्ने पद्धति थियो ।” उहाँले भन्नुभयो, “अहिले गाउँगाउँमा मेडिकल आए । भएका जडीबुटी सबै लोप हुन थालेँ ।”

नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइने गरेको डिभिजन वन कार्यालय कालीकोटका वन अधिकृत प्रकाश देवकोटाले बताउनुभयो । “कालीकोटको जडीबुटीलाई व्यवसायीकरण गर्ने सकिए यहाँको आर्थिक समृद्धिको मुख्य आधार बन्न सक्छ”, उहाँले भन्नुभयो, “जिल्लाबाट ५१ प्रजातिका जडीबुटीहरु व्यापारिक प्रयोजनामा निर्यात हुने गरेका छन् । जसबाट बर्सेनि रु २२ लाखदेखि रु ३० लाखसम्म राजस्व सङ्कलन हुँदै आएको छ ।”

कर्णालीमा यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सीताल्चीनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजोलगायतका प्रजातिका जडीबुटी पाइने गरेको वन अधिकृत देवकोटाले जानकारी दिनुभयो । “सङ्घीय सरकारको जडीबुटी विकास कार्यक्रमअन्तर्गत जडीबुटी खेती विस्तार, खेती क्षेत्र निर्धारण, पकेट क्षेत्र निर्धारण र भण्डारण केन्द्र र प्रशोधन केन्द्र निर्माणका लागि अनुदानका दिँदै आएको छ”, उहाँले भन्नुभयो, “सरकारले दिएको सुविधा प्रयोग गर्नेभन्दा केबल दोहन गर्ने काम मात्रै भएकाले अहिले लोप हुने अवस्थामा पुगेका छन् ।”