एमाले महाधिवेशन:बिहीबार साँझदेखि नै मालवाहक सवारीमा रोक

0
10

काठमाडौँ,मंसिर ९- नेकपा एमालेको १० औं महाधिवेशनमा जाने सवारी साधनलाई मध्यनजर गर्दे बिहीबार साँझदेखि शुक्रबारसम्म बुटवल नारायणगढ सडक खण्डमा मालोाहक सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।

पूर्वी र पश्चिम नवलपरासीको सुरक्षा समितिको बैठकले बिहीबार साँझदेखि मालवाहक सवारी साधनलाई यस खण्डमा रोक लगाएको हो ।

पश्चिमबाट आउने सवारी साधनलाई वैकल्पिक मार्ग खोज्न आग्रह गर्ने र बुटवलदेखि नारायणगढ सडक खण्डको मुख्य मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक लगाएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दिनहुँ जस्तो हुने सवारी जाम र सडकको अवस्था जीर्ण भएकाले यस्तो व्यवस्था गरिएको हो ।

एमाले कायकर्ता सहजरुपमा कार्यक्रमस्थलमा पुग्न सकून भन्ने उद्देश्यले मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो ।

पश्चिमबाट आउने सवारीलाई बुटवलमा रोकिने छ भने भारततर्फ बाट आउने सवारीलाई भैरहवामा होल्ड गरिने छ ।

महाधिवेशनमा सहभागी हुने बाहेकका यात्रुवाहक र निजी सवारी साधनलाई पनि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

पश्चिमबाट नारायणगढ भन्दा टाढा जाने सवारी साधनले पोखरा हुँदै सवारी चलाउन सक्ने छन् । तर अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।यसैबीच, पूर्वी र पश्चिम नवलपरासीमा चितवनमा आउने नेता तथा कार्यकर्ताको स्वागतमा विभिन्न स्थानमा स्वागतद्वार निमार्ण गरिएको छ ।

श्रोत:ekantipur.com