बागमती प्रदेश सरकारको सहयोगमा रत्ननगर अस्पतालमा पिसीआर प्रयोगशाला र अक्सिन प्लान्ट जडान

0
134

चितवन,भदौ ५- चितवनको रत्ननगर नगरपालिकामा अवस्थित बकुलहर रत्ननगर अस्पतालमा पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ ।

अस्पताल परिसरमा आज(मंगलवार) एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले दुई महत्वपूर्ण सेवाको उद्घाटन गरेकी हुन ।

सो अवसरमा मुख्य मन्त्री शाक्यले प्रदेश भित्रका सरकारी अस्पतालमा स्वास्थ्य उपकरण अभाव हुन नदिने बताएकी छन ।

उनले स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुनिश्चित गर्ने भन्दै चितवन र मकवानपुरका सरकारी अस्पताललाई जोडेर सेवा प्रवाहलाई प्रभाकारी बनाउन प्रदेश सरकार लागि परेको बताईन।

मुख्य मन्त्री शाक्यले उद्घाटन गरे संगै सो अस्पतालमा पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्टको सेवा आजदेखि शुरु भएको छ ।

बागमती प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर अत्याधुनिक प्रविधिसहितको अक्सिजन प्लान्ट अस्पताललाई प्रदान गरेको हो ।

बाहिरी वातावरण बाट तानेर अक्सिजन संकलन गर्न सक्ने क्षमतासहितको सो अक्सिजन प्लान्टले दैनिक ५० सिलिन्डर उत्पादन गर्ने अस्पतालका मेसु डा.विश्वबन्धु बगालले बताए ।

प्लान्टमा संकलन भएको अक्सिजनलाई पाइप मार्फत बिरामी भएको बेडसम्म पुर्याउन अस्पतालले पाइपलाइनको व्यवस्थापन गरेको उनले बताए ।

कोरोना परीक्षणको लागि प्रदेश सरकारले सो अस्पतालमा पिसिआर प्रयोगशाला निर्माण गरेको हो।

प्रयोगशालामा मेसिन जडान गरी सञ्चालनको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको मेसु बगालले जानकारी दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री विजय सुवेदी र स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवालको समेत उपस्थिति रहेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका मेयर नारायण वन,पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी,अस्पतालका पूर्व अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा उपमेयर विमला दुवाडी सहित जनप्रतिनिधि,अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।