१६ बुँदे मागपत्र सहित शेयर लगानीकर्ता द्वारा गभर्नर अधिकारीको राजीनामा माग

0
137

काठमाडौं,भदौ २०-  शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन ।

आफ्नो सम्पत्ति धितोमा राखेर क्षमता अनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका हुन।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ ।

यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन अब सक्नुहुनेछ ।

यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ। बजारमा निकै ठूलो नकारात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन ।

यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने माग अघि सारेको छ ।

समितिले १६ बुँदे मागको पहिलो नम्बरमा नै गभर्नरका कारण जनताको लगानी जोखिममा परेको उल्लेख गरेको छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले बजारलाई बर्वादीको दिशामा अघि बढाएको बताउछिन।

४० लाख लगानीकर्ताहरुको हितविपरीत गभर्नर अधिकारीले आफूखुसी नीति बनाएको भन्दै तत्कालै नीति परिमार्जन गर्नुपर्ने बताइन् ।

आफ्ना मागहरु सहज तरिकाले सम्बोधन नभए आन्दोलन गर्न आफूहरु बाध्य हुने उनले चेतावनी समेत दिएकी छिन।