अब देखी अनलाइनबाटै घरनक्साको काम हुने

0
283

चितवन,भदौं ४-

चितवनको भरतपुर महानगरपालिकाले घर नक्साको काम अनलाइनबाट सुरु गरेको छ । महानगरले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा बनेको सफ्टवेयरमार्फत अनलाइन सेवा सुरु गरेको हो । महानगर प्रमुख रेनु दाहालले उक्त सेवाको सुरुवात गरिन। दाहालले महानगरलाई कागजविहीन बनाउने नीतिअनुसार काम गरिएको बताइन् ।

भरतपुर–९ कि सुष्मा केसीलाई १५ दिने सूचना अनलाइन भवन निर्माण अनुमाति प्रकृया पोर्टलबाट दिइएको छ। अब सेवाग्राहीले घर बनाउँन निवेदन, इन्जिनियरले बनाइदिएका घरको डिजाइन अनलाइनबाटै पठाउन सक्नेछन् ।

सूचीकृत भएका इन्जिनियरले बनाएका घरको डिजाइन मात्रै सफ्टवेयरमा प्रविष्ट हुन्छन् । निवेदन तथा डिजाइन स्वीकृत भएको सूचनासमेत सफ्टवेयरमै देखिने छ । जसका लागि युजर नेम र पासवर्ड परामर्शदाता मार्फत सेवाग्राहीले पाउनेछन् ।

अनलाइनमा इन्ट्री गर्दा कागजपत्र तथा विवरण अपुग भएमा त्यसको जानकारीसमेत अनलाइनबाटै दिइनेछ । सहरी तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्नप्रसाद लामिछानेले भवन निर्माण आचारसंहिता कार्यान्वयनमा यसले सहयोग पुग्ने बताए । उनले अब घर बनाउन महानगरनै धाउनुपर्ने बाध्यता हट्ने बताए ।