१० औं विश्व अन्तराष्ट्रिय हात्ती दिवस चितवनमा धुमधामले मनाइयो

0
100

रत्ननगर, साउन २८ – चितवनमा विहीवार १० औं विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । पर्यटकीय नगरी सौराहाका हात्ती व्यवसायीहरुले खैरहनी १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती दिबस मनाएका हुन ।

कोरोना महामारीका कारण सौराहाको पर्यटन व्यवसाय प्रभावित भएपछि यहाँका व्यवसायीहरुलाई हात्ती पाल्न मुश्किल भइरहेको छ । आम्दानी नभएर हात्तीलाई आहारको अभाव,माउते र फनितलाई मासिक तलब खुवाउन समस्या भइरहेको बेला व्यवसायीहरुले हात्ती दिवसमा औपचारिक कार्यक्रम गरी हात्ती विस्तापित हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका हुन ।

सौराहामा रहेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहआयोजनामा कार्यक्रम गरिएको हो । युनाइटेडका अध्यक्ष ऋषि तिवारीले कोरोनाको प्रभावका कारण सौराहामा नीति क्षेत्रमा सञ्चालित हात्तीहरु विस्थापित हुँदै गएको बताए । डेढ बर्षको अबधिमा २२ वटा हात्ती विक्री भइसकेको भन्दै सफारी पर्यटनको प्रमुख अंक हात्ती विस्तापित हुन नदिन सरकारले हरियो घाँसको उपलब्धता,भेटेरेनरी डाक्टरको व्यवस्था गर्नुपर्ने बताए ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगर वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,खैरहनी १३ की कार्यबहाक वडाध्यक्ष टीकादेवी दाहाल,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निर्वतमान अध्यक्ष बासु ढुंगाना,रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा,कुमरोज वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ,उपाध्यक्ष सानुकाजी कुँवर लगायतले मन्तव्य राखेका थिए ।

चितवनमा निजी स्तरमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थासंग आबद्ध ३३,सपना भिलेन लजका ७ र ओम रिजालका ७ गरी ४७ तथा चितवन निकुञ्ज अन्तर्गत ५६ र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा अन्तर्गत ५ गरी ६१ वटा सरकारी हात्तीहरु रहेका छन् । कोरोना महामारीका कारण सौराहाको पर्यटन प्रभावित भएपछि निजी स्तरमा सञ्चालित २२ वटा हात्ती विक्री गरिएको छ । कोरोना महामारी सुरु हुनुपूर्व युनाइटेडसंग आबद्ध ५५ हात्ती थिए ।