रत्ननगर नगरपालिका द्वारा कृषि क्षेत्रको विकास गर्न उत्पादनमुखी योजना निर्माण

0
138

रत्ननगर ,साउन २८ –

चितवनको रत्ननगर नगरपालिकाले कृषि क्षेत्रमा गरिएको लगानी खेरजान नदिन बलियो योजना बनाउन जुटेको छ ।

सो नगरपालिकाले समष्ठिगत कृषि योजना निर्माणको लागि विहीवार सौराहामा योजना तर्जुमा गोष्ठीको आयोजना गरेको हो ।

विज्ञहरुको सुझाब लिएर कृषि क्षेत्रको विकासको लागि बलियो योजना बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख प्रविण लामाले बताए ।

नगरपालिकाले सञ्चालन गरेका कृषिका कार्यक्रमहरु वितरणमुखी भएपछि उत्पादन र परिणाममुखी बनाउन योजना निर्माण गर्न लागिएको हो । चालु आर्थिक बर्षका योजनालाई प्रभावकारी बनाएर एक बर्ष भित्र कृषि क्षेत्रमा आमुल परिर्वतन ल्याउने लक्ष्य सो नगरपालिकाको रहेको छ ।

फलफुल तथा तरकारी मुल्य सृंखला विकास आयोजनाको सहयोगमा आयोजित कार्यक्रममा आयोजनाका बजार विकास विशेषज्ञ डा.राजकुमार अधिकारी,बरिष्ठ बैज्ञानिक तथा वागवनी विशेषज्ञ पुरुषोत्तम खतिवडा,प्राविधिक प्रसार विशेषज्ञ शिब श्रेष्ठ,कृषि अधिकृत राम थापाले योजना निर्माणको लागि सहजीकरण गरेका थिए ।

कार्यक्रममा मेयर नारायण वनले परिणाममुखी कृषि योजना निर्माण गरी एक बर्ष भित्र यस क्षेत्रको विकास गर्ने लक्ष्य रहेको बताए । कृषि क्षेत्रका योजना फितलो हुँदा लगानी खेर गएको भन्दै उनले किसानले स्थानीय सरकारको अनुभूति गर्ने गरी योजना बनाएर काम गर्नुपर्ने बताए । कार्यक्रममा योजनाको प्रभावकारिताको विषयमा समुहगत छलफल समेत गरिएको छ।

कार्यक्रममा उपमेयर विमला दुवाडी,आर्थिक विकास समितिका अध्यक्ष गुप्तनाथ भट्टराई,पशु विकास अधिकृत शालिग्राम पौडेल सहित कृषि तथा पशु शाखाका प्राविधिक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।