द्रौपदी अवशेष – एउटा जीवित अवशेषको दस्तावेज

0
154

निर्दोष जीवन ,चितवन, साउन १०-

छाता आफू नरुझी ओत दिन सक्दैन । घाममा आफू नसेकिई छाया दिन सक्दैन । पेमाका लागि वर्षामा रुझ्न, घाममा सेकिन ग्याल्जन हमेसा तयार थियो ।´

– द्रौपदी अवशेष

 

मदन पुरस्कार बिजेता उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित नयाँ उपन्यास `द्रौपदी अवशेष´

एक विल्कुलै फरक विषयमा लेखिएको उपन्यास हो ।

महाभारतमा पाँच पाण्डव र द्रौपदीको वैवाहिक सत्यताबारे पढेको हुँ । उक्त घटना सुनेर मन अमिलो भएको थियो ।

अहिले `द्रौपदी अवशेष´मा पेमाले पनि द्रौपदीको जस्तै वैवाहिक जीवन जीउनु परेको प्रतिनिधि सत्य घटनाले पुनः मन अमिलो भएर आयो ।

संस्कारलाई बचाउन अझै पनि हाम्रो नेपाली समाज कसरी जिईरहेको छ भन्ने यथार्थ चित्रण यस उपन्यास पढ्दै गर्दा थाहा हुनेछ । वास्तवमा हामीले देखेको, भोगेको भन्दा पनि फरक रहेछ समाज र संस्कृति ।

नेपालको उच्च हिमाली क्षेत्र हुम्लालगायतका केही भागमा रहेको बहुपति विवाह संस्कृतिबारे अत्यन्तै गहिरो अध्ययन अनुसन्धानपश्चात् यति सुन्दर उपन्यासले जन्मिने सौभाग्य प्राप्त गरेको छ ।

मैले महाभारतमा मात्रै बहुपति विवाह होला भन्ठानेथें । उपन्यास पढ्दै जाँदा अझै पनि हाम्रो देशको उच्च हिमाली भेगमा यस्ता संस्कृति अवशेषको रुपमा रहँदै आएको बारे उपन्यासकार निहारिकाले आफ्नो लेखनका माध्यमद्वारा आम पाठक सामु प्रष्ट्याइदिनु भएकोमा हार्दिक धन्यवाद भन्न चाहन्छु ।

हुम्लालगायताका भेगहरुको भाषा, कला र संस्कृतिको बारेमा समेत धेरै जानकारी हासिल गर्न ठूलो सहयोगी पुस्तकको रुपमा आएको छ `द्रौपदी अवशेष´ ।

कर्णाली प्रदेशका उच्च पहाडी भेगका मान्छेले कसरी दु:खका पहाड चढ्ने र झर्ने गरेकाछन् ?
मान्छेहरुका पीडाका कथा र उनीहरुले भोग्दै आएका अनेकौं व्यथाहरुको कहिले अन्त होला ?
यहाँका मान्छेहरु आँसुका सागरमा कसरी पौडिन बाध्य छन् ? यस्तै यस्तै प्रश्नहरुले मन विथोलिदिएको छ ।

दूरदराजमा सुखको घाम कहिले उदाउला ? शिक्षा र स्वास्थ्य, बाटो र बिजुली यो ठाउँमा कहिले पुग्ला ?
संस्कृतिको जगेर्ना गर्ने नाउँमा कयौं विकृति र कुसंस्कारको अन्त कहिले होला ? यतिबेला मेरो मनमा यस्तै प्रश्नहरु उब्जिएका छन् ।

पेमा र ग्याल्जनको प्रेम प्रसंगहरुले उपन्यास अत्यन्तै सुन्दर बनेको छ ।पेमा र ग्याल्जनलाई पुर्नमिलन गराउन ठूलो भूमिका निभाउने दिग्विजयलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु ।

अत्यन्तै खोजमुलक उपन्यास `द्रौपदी अवशेष´ले नेपाली साहित्यलाई थप उचाइ प्रदान गर्न सफल हुने कुरामा म निश्चित छु । एउटा जीवित अवशेषको दस्तावेज यो किताब युगयुग बाँचिरहने किताब हो भनेर निर्धक्क साथ भन्न सक्छु । यो एउटा ऐतिहासिक उपन्यास बनेर हरेक पाठकको मनमा बस्न सफल हुनेमा म विश्वस्त छु ।

`द्रौपदी अवशेष´ एउटा अर्गानिक उपन्यास भएकोले उपन्यास पढ्ने हरेक पाठकले आफ्नो पाठकीय आयु बढेको महसुस गर्नेछन् । यस्ता ओजनदार उपन्यासले पुस्तक पठन संस्कृतिमा समेत बढोत्तरी ल्याउन सफल हुनेछन् । उपन्यासकार नीलम कार्की निहारिकालाई हार्दिक बधाई तथा शुभकामना ।

(“साँग्रीला बुक्सबाट प्रकाशित द्रौपदी अवशेष उपन्यास पढेपछि पुस्तकका सन्दर्भमा निर्दोष जीवनको टिप्पणी “)