सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि,भिसेरा जाँचपछि मृत्युको कारण खुल्ने

0
301

चितवन,असार २४-

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शंकास्पद मृत्युपछि गरिएको पोष्टमार्टममा बलात्कारको कुनै लक्षण फेला परेन । उनको संवेदनशील अंगमा कुनै क्षति पुगेको वा कन्या जाली च्यातिएको नदेखिएकाले बलात्कार नभएको परीक्षण (अटोप्सी) रिपोर्ट आज चिकित्सकहरुबाट आएको हो ।

पोष्टमार्टमबाट बलात्कार वा अन्य शारीरिक चोट पटकका कारण सुजिताको मृत्यु भएको नदेखिए पनि खास कारण अझै खुलेको छैन । बायाँ हातमा भने ब्लेडले काटेको देखिन्छ । शवस्थल नजिकै भेटिएको विषादीको बट्टाको कारण मृत्युको तथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पेटलगायत शरीरका भित्री भागहरु (भिसेरा) परीक्षण प्रक्रिया अघि बढाएको छ । आज शरीरका केही अङ्ग परीक्षणनिम्ति विधि बिज्ञान प्रयोगशाला (नास्ट) पठाइएको छ ।

आइतबार पूर्वी चितवनको भण्डारा,धमिलीस्थित सामुदायिक वनमा भण्डारीको शव नजिकै पतेरा मार्ने विषको बट्टा भेटिएको थियो । भण्डारीले विष खाएर आत्महत्या गरेको हुनसक्ने अर्कोथरि आशंका पनि छ । यद्यपि यसको पुस्ट्याइँ भैसकेको हैन। प्रहरीले कुनै प्रेम सम्बन्धका कारण डिप्रेशनमा गएर त्यो हर्कत गरेको हो वा होइन भन्ने कोणबाट समेत अनुसन्धान थालेको र टेलिफोनबाट कल डिटेल र सन्देश आदानप्रदानको विवरणसमेत संकलन गरिएको बताइन्छ ।

सुजाताको शव भेटिनु नौ दिनअघि नै परिवारले उनको अपहरण भएको आशंकामा प्रहरीमा जाहेरी दिएका थिए । उनले टेलिफोनमा आफूलाई दुई महिला र एक पुरुषले अपहरण गरेको बताएको दिदीको दावी छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा हिजो साँझदेखि आज साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।