स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन हुने

0
95

काठमाडौं,असार २०- कोरोना महामारीका कारण स्थगित भएका लिखित तथा प्रयोगात्मक परीक्षा अब सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको आइतबार बसेको बैठकले जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी लिखित परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यकाको हकमा परीक्षा सञ्चालन हुने भएको हो ।

परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालन हुने कुनै पनि हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिस भेला नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

एकै दिन २५ जना भन्दा बढी परीक्षार्थीहरु जम्मा हुने अवस्था भएमा सिफ्ट प्रणालीमा परीक्षा सञ्चालन गर्ने र परीक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपछि नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थीहरुलाई प्रवेश गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी माक्स र सेनिटाइजरजको उचित प्रयोग गर्नुपर्ने जनाइएको छ ।