एमाले केन्द्रीय कमिटीको भोलि बस्ने बैठकमा नजाने माधव नेपाल पक्षको निर्णय

0
133

काठमाडौँ,असार १७- नेकपा एमालेको माधव नेपाल पक्षले भोलि(शुक्रबार) बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

नेपाल समूहले एमालेभित्र देखिएको विवाद वार्ता र सहमतिबाट समाधान गर्नुपर्ने समेत निर्णय गरेको छ । स्थायी कमिटीको निर्णयपछि मात्रै केन्द्रिय कमिटीको बैठक बोलाइनुपर्ने नेपाल समूहको माग छ ।

भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेर नेता नेपाल समुहका नेताहरु भने ओली समूहका नेताहरुसँग छलफलका लागि ललितपुरको समिट होटलमा पुगेका छन् ।

छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् । ओली समूहबाट भने नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल सहभागी छन् ।